काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी) १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (आठ मार्च)को अवसर पारेर आफ्नो राष्ट्रिय भेलामा जुटेको छ । देशैभरिबाट सैयौंको संख्यामा आएका क्रान्तिकारी महिलाहरु कुपण्डोलको पार्टी कार्यालयमा संगठनको उद्घाटन सत्रमा जुटिरहेका छन् । काठमाडौंको सुन्धराबाट विभिन्न नारा लगाउँदै झण्डा, व्यानर सहितको ¥याली कुपण्डोल कार्यालयमा पुगेर उद्घाटन सत्रमा सहभागी हुँदैछन् । भेलाको क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय भेलालाई लक्षित गरेर महिला दिवसमा निकालिएको पर्चामा अनेमसंघ (क्रान्तिकारी)ले भनेको छ, “आठमार्च मनाउनुको अर्थ सहिदका सपना पूरा गर्ने प्रतिबद्धता गर्नु हो ।”
यस्तो छ अनेमसंघ (क्रान्तिकारी)ले निकालेको पर्चा :
”हामी क्रान्तिकारी महिलाहरुले आठ मार्च मनाउनु भनेको महिला मुक्ति आन्दोलनको इतिहासमा योगमाया न्यौपानेदेखि थुप्रै न्यायपूर्ण आन्दोलनमा बलिदान गर्ने महिलाहरुका साथै महान् जनयुद्धका दौरान उच्च बलिदान गर्ने दिलमाया योञ्जन, कुमारी बुढाजस्तै २५०० बढी महान् महिला सहिदहरु, सयौं बेपत्ता योद्धाहरु, घाइते अपाङ योद्धाहरुको उच्च सम्मान गर्नुका साथै सहिदका सपना पूरा गर्ने प्रतिबद्धता गर्ने दिन हो । नेपाली समाजमा आवाजविहीन उत्पीडित, उपेक्षित वर्गमा क्रान्तिको चेत भर्ने र आन्दोलित गर्न जनयुद्धले उत्प्रेरणाको ठूलो काम ग¥यो । तर, मूल नेतृत्वद्वारा धोका र गद्दारीका साथै आन्दोलनमा पैदा भएको वैचारिक विचलनले आम निराशा, अविश्वास, आशंका र अन्यौलता पैदा भएको छ । यसप्रकारको निराशा र प्रतिक्रान्तिविरुद्ध पुनः संगठित हुँदै महिला आन्दोलनलाई सुदृढ गर्ने कार्ययोजनामा जुट्ने प्रतिबद्धता गर्ने दिनकै रुपमा मनाउनु पर्छ आठ मार्च ।”
मुलुक यतिबेला असाधारण राजनीतिक परिवेशबाट गुज्रिरहेको छ । १० वर्षे महान् जनयुद्ध, १९ दिने जनआन्दोलनको वलमा स्थापित ‘लोकतान्त्रिक गणतन्त्र’ श्रमजीवी, शोषित, उत्पीडितवर्गको पक्षमा हुन सकेको छैन । विद्यमान राज्यव्यवस्था दलाल पुँजीपतिवर्गको प्रतिनिधि संस्था भएको हुँदा दोस्रो संविधानसभा र त्यसबाट बनेको संविधान उपेक्षित उत्पीडित वर्गको होइन, दलाल पुँजीपतिवर्गकै बन्न गएको छ । नेपाली जनताको लामो बलिदानबाट बनेको संविधानसभा र नयाँ संविधान आज बाँदरको हातमा नरिवल साबित भएको छ ।
नेपालजस्तो पितृसत्तात्मक सामन्ती समाजमा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला हुनु ठूलो र गर्वको कुरा होला तर दाइँजोको निहुँमा जिउँदै जल्नुपर्ने, छाउपडी कुप्रथामा बस्नुपर्ने, बोक्सीको नाममा मलमूत्र खाइनुपर्ने, रोजगारीको नाममा भारत, खाडी मुलुकदेखि युरोप, अमेरिकासम्मका कोठीहरुमा बेचिनुपर्ने, हत्या, हिंसा र बलात्कारको शिकार बन्नुपर्ने स्थितिमा रहेका आम महिलाहरुले राज्यको उच्च तहमा महिला नेतृत्व भएकोमा गर्व गर्ने स्थिति कहाँ छ र ? दिन दुगुणा रात चौगुणाका दरमा महिलामाथिको विभेद, उत्पीडन र हिंसाले नेपाली समाज आक्रान्त छ । यो राज्यव्यवस्था दलाल वर्गको हातमा भएका कारण राज्यका उच्च तहमा महिला बस्दैमा महिला मुक्ति सम्भव छैन भन्ने प्रष्ट भएको छ । नेपाली महिलाहरु आज पनि आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक र राजनीतिक रुपका शोषणभित्र आधुनिक दासको जीवन जीउन बाध्य छन् ।
झण्डै एक शताब्दीअघि अमेरिकाका शिकागो शहरमा कपडा मिलमा कार्यरत श्रमिक महिलाहरुले संघर्षद्वारा प्राप्त गरेको विजय र उत्सवको दिन १०७औं आठ मार्च मनाउन गइरहेका छौं । यो दिवसको सान्दर्भिकता महिला मुक्ति आन्दोलनका निम्ति भएका संघर्ष र बलिदानको सम्मान गर्नुका साथैै अझै अघि बढ्ने प्रतिबद्धता गर्नु पनि हो । आठ मार्चलाई विभिन्न संसदीय घरानियाँ महिलाहरुले ठूला होटलमा गोष्ठी, सेमिनार र डिनर खाएर पनि मनाउने गर्छन् भने कतिपय महिला संगठन र संस्थाहरुले कर्मकाण्डी रुपमा मात्र मनाउने गरेका छन् । हामी क्रान्तिकारी महिलाहरुले आठ मार्च मनाउनु भनेको महिला मुक्ति आन्दोलनको इतिहासमा योगमाया न्यौपानेदेखि थुप्रै न्यायपूर्ण आन्दोलनमा बलिदान गर्ने महिलाहरुका साथै महान् जनयुद्धका दौरान उच्च बलिदान गर्ने दिलमाया योञ्जन, कुमारी बुढाजस्तै २५०० बढी महान् महिला सहिदहरु, सयौं बेपत्ता योद्धाहरु, घाइते अपाङ योद्धाहरुको उच्च सम्मान गर्नुका साथै सहिदका सपना पूरा गर्ने प्रतिबद्धता गर्ने दिन हो । नेपाली समाजमा आवाजविहीन उत्पीडित, उपेक्षित वर्गमा क्रान्तिको चेत भर्ने र आन्दोलित गर्न जनयुद्धले उत्प्रेरणाको ठूलो काम ग¥यो । तर, मूल नेतृत्वद्वारा धोका र गद्दारीका साथै आन्दोलनमा पैदा भएको वैचारिक विचलनले आम निराशा, अविश्वास, आशंका र अन्यौलता पैदा भएको छ । यसप्रकारको निराशा र प्रतिक्रान्तिविरुद्ध पुनः संगठित हुँदै महिला आन्दोलनलाई सुदृढ गर्ने कार्ययोजनामा जुट्ने प्रतिबद्धता गर्ने दिनकै रुपमा मनाउनु पर्छ आठ मार्च ।
उत्पादन सम्बन्धमा महिलाको पहुँच, पैतृक सम्पत्तिमा समान अधिकार, सामाजिक तथा राजनीति सत्तामा विशेषाधिकार लागू नगरेसम्म महिला र पुरुष बराबर सम्मानित प्रतिस्पर्धा गर्न योग्य हुन सक्ने छैनन् । निरन्तर महिलाहरुको क्षमतामाथि प्रश्न उठिरहने गरेको छ । सदिऔंदेखि दासताभित्र कैद प्रतिभाहरु प्रस्फुटनको निम्ति विशेष अधिकार जरुरी छ । नेपाली धर्तीमा मडारिएको प्रतिक्रान्तिको कालो बादलविरुद्ध नयाँ कार्यदिशा निर्माण गर्न हाम्रो संगठन अनेमसंघ (क्रान्तिकारी) ‘सबैखाले वैचारिक विचलनका विरुद्ध दृढतापूर्वक संघर्ष गरौं, महिलामुक्ति आन्दोलन सुदृढ गर्न राष्ट्रिय भेला सफल पारौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय भेलामा जुटिरहेको छ । उक्त भेलाद्वारा महिला आन्दोलनलाई सुदृढ गर्न क्रान्तिकारी कार्ययोजना निर्माण गर्ने प्रतिबद्ध छौं । विद्यमान प्रतिक्रियावादी राज्य व्यवस्थाविरुद्ध जनताको गणतन्त्र स्थापनाका निम्ति संघर्षमा जुट्नुको विकल्प छैन । क्रान्तिकारी अवश्यंभावी छ, जनताको जित निश्चित छ ।
नाराहरू
१. महिलामाथि हुने सबै खाले हिंसा– बन्द गर !
२. १०७औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस– सफल पारौं !
३. समान कामको समान ज्याला– कायम गर !
४. पैतृक सम्पत्तिमा समान अधिकार– लागू गर !
५. राष्ट्रिय स्वाधीनताको – रक्षा गरौं !
६. वीर सहिदहरु – लाल सलाम !
७. दक्षिणपन्थी अवसरवाद– मूर्दावाद !
८. जनताको गणतन्त्र– जिन्दावाद !
९. अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद– मूर्दावाद !
१०. भारतीय दलालहरु – होशियार !
११. जाली फटाहाहरु – होशियार !
१२. सम्पूर्ण राष्ट्रवादीहरु – एक होऔं !
१३. सम्पूर्ण उत्पीडित महिलाहरु – एक होऔं !
१४. महिला मुक्ति आन्दोलन– जिन्दावाद !
१५ नागरिकतामा समानता– कायम गर !
१६. राष्ट्रिय भेला सफल पारौं !
क्रान्तिकारी अभिवादनसहित !
–अनेमसंघ (क्रान्तिकारी),राष्ट्रिय भेला आयोजक समिति
मिति : २०७३ फागुन २५