राजविराज । सप्तरीको सदरमुकाम राजविराजको उत्तरतर्फ रहेको औद्योगिक क्षेत्रमा एमालेले गरेको सभा विथोल्न मधेसी मोर्चाका कार्यकर्ताहरुले गरेको प्रदर्शनको क्रममा भएको प्रहरी र मोर्चा कार्यकर्ता बीचको झडमा प्रहरीले गोली चलाउँदा गोली लागेर मृत्यु हुनेको संख्या सात पुगेको छ । प्रहरीले मोर्चाका कार्यकर्ताहरुले पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनु परेको भनेको छ भने मोर्चाले त्यसलाई अस्वीकार गरेको छ ।
प्रहरीको गोली लागि मलेठ–४ का २० वर्षीय संजन मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने डिमनका दिगम्बर यादव र मलेठ–४ का पिताम्बर मण्डलको उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै प्रसवनीका आनन्दप्रसाद साहको पनि उपचारको क्रममा मृत्यु भएको मोर्चाले जनाएको छ । त्यसैगरी उपचारको क्रममा अवधेश ठाकुर र सञ्जय मेहताको पनि मृत्यु भएको छ ।
घटनामा गोली प्रहारबाट एक जना १२ बर्षीय बालक सुरेन्द्र साहसहित आठ जना घाइते भएका छन् भने प्रहरीको लाठी चार्जबाट एक दर्जनभन्दा बढी मोर्चाका नेता कार्यकर्ता घाइते भएका छन् । सद्भावनाका केन्द्रीय सदस्य भीमराज यादव र दीपेन्द्र चौधरी, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, संजय यादवसहितका लाठी चार्जबाट घाइते भएका छन् । घाईते मध्ये अधिकांशको उपचार धरान र राजविराजमा भइरहेको छ ।
मधेशका अधिकांश जिल्ला तनावग्रस्त
सप्तरीको घटनालगत्तै सिरहाको लाहान, धनुषाको जनकपुर, महोत्तरीको जलेश्वर, रौतहटको गौर, पर्साको वीरगंजलगायतका क्षेत्रमा मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । पूर्व पश्चिम लोकमार्गमा ठाउँ ठाउँमा टायर बालेर अवरोध गरिएको छ भने ट्रकमा आगजनी गरिएको छ ।
मोर्चाद्वारा फागुन २४ र २५ मा मधेश बन्द आव्हान
सप्तरी घटनापछि सरकारलाई दिएको समर्थन फिर्ता लिंदै फागुन २४ र २५ गते मधेश बन्दको आव्हान गरेको छ । मोर्चाले विज्ञप्ती निकाल्दै मधेशमा राज्यआतंक बन्द गर्न भनेको छ ।
एमाले अभियान ३ दिनका लागि स्थगित
निकै ठूलो होहल्ला र तामझामका साथ सुरु गरिएको एमालेको मेची महाकाली अभियान सप्तरीको घटनापछि ३ दिनका लागि स्थगित गरिएको छ । उसले स्थितिलाई विचार गरेर अभियान अगाडि बढाउने जनाएको छ ।
दुई अतिका कारण मुलुक विखण्डनतर्फ
पहाडे खस ब्रम्हाणवादी शासकीय मानसिकताबाट ग्रस्त नेताहरु र मधेशका अन्ध जातिवादी तथा क्षेत्रीयतावादी नेताहरुमा भएको अतिका कारण मुलुक हिंसाका बीच बिखण्डनतर्फ उन्मुख हुँदै गएको छ । बर्षौंदेखि राज्यव्यवस्थाबाट विभेद र उत्पीडनमा पर्दै आएका मधेसी जनताको अधिकारलाई कुण्ठित गर्ने, उनीहरुको स्वाभिमानमाथि आँच पु¥याउन खोज्ने व्यवहार र अभिव्यक्ति दिने शासकहरुकै कारण मधेश नजानिदो किसिमले विखण्डनतर्फ अग्रसर देखिन्छ । यो दुई अतिका विरुद्ध मधेश र पहाडका स्वाभिमानी नेपालीहरु उठ्न जरुरी छ ।