काठमाडौं । एमालेको मेची महाकाली अभियानन्तर्गत उसले सप्तरीको राजविराज नगरपालिकादेखि उत्तरमा रहेको औद्योगिक क्षेत्रमा आयोजना गरेको सभा विथोल्न प्रदर्शनमा उत्रिएका मधेशी मोर्चा र प्रहरीबीचको झडपमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागि एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ । प्रारम्भिक जानकारी अनुसार प्रहरीको गोली लागि संजन मेहताको मृत्यु भएको छ । दर्जनौ घाइते भएका भएका छन् । थप प्रदर्शनकारीहरुको मृत्यु भएको हुनसक्ने घटनास्थलबाट हाम्रा संवाददाताले बताएका छन् ।
एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए । एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०÷२० जनाको समूह समूहमा रहेका प्रदर्शनकारीले ठाउँठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच पटक पटक झडप भएको थियो ।