काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदान सुरु हुन लाग्दा प्रहरी प्रशासनले हस्तक्षेप गरेको छ ।
स्ववियु निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भई मतदान हुन लाग्दा प्रहरीले क्याम्पसको गेटबाट नै विद्यार्थी तथा क्याम्पस प्रशासनका प्राध्यापक, कर्मचारी कसैलाई पनि भित्र छिर्न नदिएको हो ।
गृह प्रशासनको निर्देशनमा स्थानीय तह निर्वाचन आचार संहिता आकर्षित हुने भन्दै अन्तिम घडीमा आएर स्ववियु निर्वाचनमाथि हस्तक्षेप गर्दै विद्यार्थीलाई आफ्नो मताधिकार प्रयोग गर्नबाट बन्चित गरिएको हो ।
निर्वाचन आयोगले आइतबार सूचना प्रकाशित गरेर पूर्वनिर्धारित निर्वाचन गराउन पाउने उल्लेख गरेको भोलिपल्टै आरआरमा हस्तक्षेप भएको हो ।
आयोगको सूचनामा भनिएको थियो, ‘विश्व विद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेशागत संघ संगठनहरुको पूर्वनिर्धारित कार्यतालिकाबाहेकका निर्वाचन नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिने नीतिगत निर्णय भएको हुँदा सोही व्होरा जानकारीका लागि निर्णयानुसार अनुरोध छ ।’
आयोगको माथिको सूचनाअनुसार पूर्वनिर्धारित तालिका रहेको स्ववियु निर्वाचन गराउन बाधा उत्पन्न नहुने देखिएपनि सत्तारुढ दलकै विद्यार्थी संगठनले आरआरमा स्ववियु निर्वाचनमा भाग लिने अवस्था नरहेका कारण हस्तक्षेप भएको हुनसक्ने अन्य विद्यार्थी संगठनको आशंका छ ।
आरआर क्याम्पसमा सत्तारुढ नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ दर्ता भएको थिएन भने माओवादी केन्द्र निकट विद्यार्थी संगठनले निर्वाचनमा भाग लिएको छैन ।
स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु र नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नयाँ शक्ति विद्यार्थी युनियन, विप्लव माआवादी निकट अखिल (क्रान्तिकारी) अखिल छैठौं र संघीय समाजवादी विद्यार्थी युनियनको संयुक्त प्यालन प्रतिस्वर्धामा थिए ।