काठमाडौं । अमेरिकामा पुनः रक्षा बजेट बढ्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पूर्व प्रतिबद्धताविपरित रक्षा बजेट बढाउन लागेका हुन् ।
उनले सन् २०१८ का लागि प्रस्तावित बजेटमा रक्षातर्फ ५४ अर्ब डलर अर्थात झण्डै १० प्रतिशत रकम बढाउने तयारी गरेका हुन् । यसअघि ट्रम्पले नेटोलगायतमा गर्दै आएको लगानी घटाउनेसहित रक्षा बजेटमा कम गर्ने संकेत गरेका थिए ।
ट्रम्पले वैदेशिक सहायता, पर्यावरणीय सुरक्षाका लागि गरिने खर्चसहित अरु क्षेत्रको बजेट कटौती गरेर रक्षामा खर्च बढाउने प्रस्ताव गरेका छन् । बढाइएको बजेट सेना, सुरक्षा र आर्थिक विकासमा केन्द्रित रहने उनको भनाई छ ।
सरकारी निकायसँगको परामर्शपछि ट्रम्पले आगामी मे मा कंग्रेसमा बजेट प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।
अहिले अमेरिकाको रक्षा बजेट वार्षिक ६ सय ३ अर्ब डलर छ । सन् २०१२ देखि लगातार रक्षा खर्च कटौती हुँदै आएको अमेरिकामा ट्रम्पले सत्ता सम्हालेपछि भने बजेट बढाउने तयारी गरिएको हो ।