अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जीवन हर क्षण खतरामा रहेको बताएका छन्।
एयर फोर्स वानमा यात्राका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो नाम इरानीहरूको हिटलिस्टको शीर्ष स्थानमा रहेको दाबी गरे।
वास्तवमा पत्रकारहरूलाई उडानको समयमा झ्यालको पर्दा बन्द राख्न भनिएको थियो। यसबारे सोध्दा ट्रम्पले भने, ‘यो खतरनाक उडान हुन सक्छ। यी (इरानीहरू) खतरनाक मानिसहरू हुन्। म सधैँ खतरामा हुन्छु। मेरो नाम उनीहरूको सूचीको शीर्षमा छ।’
ट्रम्पले पत्रकारहरूलाई ठट्टा गर्दै भने, ‘यदि मलाई केही भयो भने तपाईंहरूलाई पनि हुन्छ। सायद कुनै दिन तपाईंले आफ्नो पेसा परिवर्तन गर्नेबारे सोच्नुपर्नेछ।’ गएराति मात्र अमेरिकाले शान्ति सम्झौता भएयता इरानमा लगातार दोस्रोपटक हवाई हमला गरेको छ।
ट्रम्पले भनेलगत्तै अमेरिकी सेनाले बुधबार अबेर रातिदेखि इरानमा हवाई हमला गरेको हो। इरानका कोनारक र चाबहारलगायत धेरै सहरमा अमेरिकी सैन्य हवाई आक्रमण जारी छ। इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार दक्षिणपूर्वी इरानको इरानसहर विमानस्थलमा भएको आक्रमणमा एक अग्नि नियन्त्रकको मृत्यु भएको छ। सिस्तान र बलुचिस्तान प्रान्तका उपगभर्नर र इरानसहरका गभर्नरले स्थानीय समयअनुसार बुधबार राति १२स्३० बजेतिर सहरभरि चारवटा ठुला विस्फोट सुनिएको बताएका छन्।
इरानको एकमात्र समुद्री बन्दरगाह र एक महत्त्वपूर्ण विश्वव्यापी व्यापार केन्द्र सञ्चालन गर्ने चाबहार फ्रि जोन अर्गनाइजेसनका प्रमुखले चाबहारका क्षेत्रमा अमेरिकाको आक्रमणपछि अधिकारीहरूले गोदामका सवारीसाधन हटाउन थालेको बताएका छन्। मध्यरातसम्ममा गोदामबाट लगभग ३०० सवारीसाधन हटाइएका छन्।बाँकी १०० सवारीसाधन हटाउने यो बिहानसम्म जारी रहने बताइएको छ।
यसअघि मंगलबार पनि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य अड्डामा हवाई आक्रमण गरेको थियो।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार होर्मुज स्ट्रेटमा जहाजहरूमा भएको आक्रमणको बदलामा यो हमला गरिएको हो।
अमेरिकाका राष्ट्रपति ट्रम्पले बुधबार नेटो शिखर सम्मेलनका क्रममा बुधबार राति इरानविरुद्ध अर्को ठुलो आक्रमण गरिने बताएका थिए।
यसअघि उनले द्वन्द्व अन्त्यका लागि इरानसँग गरिएको समझदारी ‘समाप्त’ भएको घोषणा गरेका थिए।






























