नोट ः क. अजित भारतको माओवादी आन्दोलनका एकजना वरिष्ठ वैचारिक नेता हुन् । चार दिन अगाडि अङ्ग्रेजी अनलाइन पत्रिका रेडस्पार्कमा प्रकाशित यो छोटो निम्बन्धमा उनले भारतीय माओवादी आन्दोलनमा यतिबेला आइपरेको सङ्कटका सन्दर्भमा कसले दुश्मनको भूमिका खेल्यो भन्नेमा बहस चलाएर होइन उसको विचारधारात्मक तथा राजनीतिक लाइन के थियो भन्नेमा केन्द्रित भई सङ्घर्ष गरेर मात्र आन्दोलनको रक्षा र विकास गर्न सकिने बताएका छन् । यो लेख निकै छोटो भए पनि अत्यन्त सान्दर्भिक र ओजपूर्ण हुनाले यसलाई नेपालीमा अनुवाद गरी पुनः प्रकाशित गरिएको छ । अङ्ग्रेजीबाट नेपाली अनुवाद क. इन्द्रमोहन सिग्देलले गर्नु भएको हो । सम्पादक
जतिबेला कुनै क्रान्तिकारी आन्दोलनका अगाडि सङ्कट आउँछ, त्यतिबेला विचारधारात्मक स्पष्टताका लागि गरिने सङ्घर्ष अझ बढी महत्वपूर्ण हुन्छ । हामीसँग कमरेड चारु मजुमदार (सीएम) द्वारा स्थापित उच्च मापदण्डका अनुकरणीय मोडेलहरू रहेका छन् । नक्सलबारी सशस्त्र किसान विद्रोहको अवधि, पार्टी गठन गर्ने सङ्घर्ष र त्यस पछिका वर्षहरू – सबै तीव्र विचारधारात्मक सङ्घर्षले भरिएका थिए । उनको नेतृत्वमा रहेको पार्टीको कार्यदिशा र त्यसको अभ्यासको प्रक्रियामा गरिएका केही आक्रमणहरू सम्भवतः राज्य एजेन्टहरूबाट प्रभावित थिए । कानु सन्याल र केन्द्रीय समितिका केही अन्य पूर्व सदस्यहरूले जेल भित्रबाट खुला आक्रमण सुरु गरे । यसलाई राज्यको दबाबमा गरिएको कुराको रूपमा ब्रान्ड गर्न सकिन्थ्यो । तर यी आक्रमणहरूलाई त्यसरी ह्यान्डल गरिएन । सीएमले वैचारिक, राजनीतिक मुद्दाहरूमा ध्यान केन्द्रित गरे । उनी यसमा अडिग रहे । लाइनमा भएका आक्रमणहरू व्यक्तिगत आरोपहरूले रङ्गिएका भए पनि त्योे दृष्टिकोण सीएमको कुनै व्यक्तिगत विशेषताबाट उत्पन्न भएको थिएन । आलोचना र वैचारिक सङ्घर्षलाई ह्यान्डल गर्ने माओ त्सेतुङको शिक्षाद्वारा त्यो निर्देशित थियो ।
सङ्कटको समयमा, विचारधारात्मक र राजनीतिक भ्रमले धेरै मानिसहरूलाई सङ्क्रमित गर्ने गर्छ । यो सङ्गठनात्मक अनुशासनमा केही हदसम्म खुकुलो रूपमा प्रतिबिम्बित हुन्छ । प्रायः कामरेडहरू उचित सङ्गठनात्मक माध्यमहरू पालना गर्नुको सट्टा ‘आफैंले’ जवाफ खोज्न थाल्छन् । तिनीहरूले क्रान्तिकारी मार्गको विरोध गर्नेहरूसँग पनि भेट्न सक्छन् । यी सबैले ‘वाम’ र दक्षिणपन्थी अवसरवादीहरू र राज्य एजेन्टहरूलाई समस्या निम्त्याउनका लागि ठाउँ सिर्जना गर्दछन् भन्ने कुरामा कुनै शङ्का छैन । तर यस्ता कमरेडहरूलाई हतारमा दुश्मनका सहयोगीको रूपमा चिन्हित गरिहाल्नु सिद्धान्ततः गलत र प्रतिउत्पादक हुनेछ । वैचारिक शिक्षा मार्फत् उनीहरूले छरेको भ्रमलाई हटाउनुपर्छ । हामी जससँग असहमत छौं उनीहरूको सुरक्षामा सम्झौता गरेर शत्रुको हातमा खेल्नबाट बच्न पनि सावधानी अपनाउनु पर्छ । को एजेन्ट हो वा को होइन, कोसँग भेट भयो र किन भयो आदि आरोप र प्रति–आरोपहरूबाट विचलित हुनुको सट्टा, ध्यान वैचारिक, राजनीतिक मुद्दाहरूमा केन्द्रित हुनुपर्छ । असफलता निम्त्याउने कारकहरूको विश्लेषणमा केन्द्रित हुनुपर्छ र यसलाई पार गर्न धैर्यवान रही वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक कार्य गर्नुपर्छ । माओले हामीलाई “थोरैलाई हराउन धेरैलाई एकताबद्ध गर्न” सिकाउनु भएको छ ।
हाम्रो देशको माओवादी आन्दोलनमा आलोचनालाई राज्य एजेन्टको काम हो भन्ने अर्थलगाउने नकारात्मक प्रवृत्ति रहेको छ । सीएमको शहादत पछि यस्तो भएको थियो । महादेव मुखर्जीले आफूलाई सीएमको एक मात्र सच्चा अनुयायी भएको घोषणा गरे । यसको विरोध गर्ने जो कोहीलाई पनि एजेन्ट घोषित गरियो । अचम्म मान्नु पर्दैन कि उनी लिन पियाओका कट्टर समर्थक थिए । माओत्सेतुङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीले लिन पियाओलाई “वामपन्थी” रूपको दक्षिणपन्थी विचलनको समर्थकको रूपमा आलोचना गरेपछि पनि उनी त्यस्तै रहे । लिन पियाओ र उनका सहयोगीहरूले माओको हत्या गर्ने र विद्रोह गर्ने प्रयास गरे । देश छोडेर भाग्ने प्रयास गर्दा उनको मृत्यु भयो । तर “लिन पियाओ र कन्फ्युसियसको आलोचना गर्ने” अभियान यी आपराधिक कार्यहरूसँग जोडिएको थिएन । ती अभियान उनको वैचारिक, राजनीतिक विचारहरू, कन्फ्युसियसको प्रतिक्रियावादी विचारहरूसँगको तिनको सम्बन्ध र सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत वर्ग सङ्घर्ष जारी राख्नमा उनीहरूको नकारात्मक प्रभावहरूमा केन्द्रित थिए । प्रारम्भिक वर्षहरूमा सांस्कृतिक क्रान्तिको नेतृत्व गर्ने काममा लिन पियाओ र उनका समर्थकहरूको प्रमुख भूमिका थियो । त्यस समयमा पुँजीवादपन्थीहरूलाई कुओमिन्ताङको एजेन्ट आदिको रूपमा लेबल लगाउने कुरामा बढी जोड दिइन्थ्यो । तर उनलाई पदच्युत गरिएपछि, पूँजीवादी मार्गका विरुद्धको सम्पूर्ण सङ्घर्ष वैचारिक हिसाबले अझ गहिरो भयो । यस मार्फत् पहिलेका क्रान्तिकारीहरूलाई पूँजीवादपन्थीहरुमा रूपान्तरण गर्ने वैचारिक, राजनीतिक र भौतिक कारकहरू के थिए भन्ने बारेमा नयाँ बुझाइ विकास भयो । आरोप लगाउने र मानिसहरूलाई ब्रान्ड गर्ने वा वैचारिक सङ्घर्षलाई गहिरो बनाउने ? यो प्रश्नको जवाफ खोज्दा इतिहासका पाठहरूलाई ध्यानमा राख्नु सार्थक हुनेछ ।































