काठमाडौं । विद्यार्थी संगठनहरुकै अवरोधका कारण फागुन १८ मा हुने भनिएको स्ववियु निर्वाचन असफलतातर्फ उत्मुख भएको छ ।
त्रिभुवन विश्वविद्यालयका ६० प्रतिशत क्याम्पसमा विद्यार्थीको अवरोधका कारण निर्वाचन नहुने अवस्था सिर्जना भएको हो ।
तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन भएकाले अब ती क्याम्पसहरुमा मात्र चुनाव हुने भएको हो ।
स्ववियु निर्वाचनमा सत्तारूढ कांग्रेसनिकट नेविसंघ र प्रतिपक्षी एमालेनिकट अनेरास्ववियु तथा मधेसी विद्यार्थी संगठनले विभिन्न क्याम्पसमा अवरोध गरेपछि ६० प्रतिशत क्याम्पसमा मनोनयन दर्ता हुन नसकेको हो ।
विद्यार्थी संगठनकै मागमा फागुन १४ मा गर्ने भनिएको स्ववियु चुनावको मिति चार दिनपछि सार्दा पनि विद्यार्थी संगठनहरु नै निर्वाचनका लागि बाधक बनेको विश्वविद्यालयको ठहर छ ।
राजधानीको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, शंकरदेव, नेपाल कमर्श, पाटन संयुक्त, महेन्द्ररत्न ताहाचल, अमृत साइन्स, सरस्वतीलगायत क्याम्पसमा तालाबन्दी भएको छ । त्रिविअन्तर्गत ६० आंगिक र सम्बन्धन प्राप्त १ हजार ८४ क्याम्पस छन् ।
ति क्याम्पसमा फागुन १८ गते निर्वाचन हुने कार्यतालिका रहेपनि निर्धारित मितिमा निर्वाचन नहुने अवस्था सिर्जना भएको हो । ठूला भनिएका क्याम्पसमा नै निर्वाचन नहुने अवस्थापछि स्ववियु निर्वाचन असफलतातिर उन्मुख भएको हो ।