डेढ बिगाह जमिन
१९० तोला सुन
डेढ करोड बैंक मौज्दात
तिम्रो विवरण जस्तै
हुनसक्छ उसको पनि स्रोत नखुलेको
१९० दिनदेखिको आधा निद्रा
डेढ दिनदेखिको भोको पेट
भर्खरै कसैले गरिदिएको राइड क्यान्सिल
वा एकछिनमा दिन्छु भनेर धुँवादार भागेको कुनै यात्रु
तिर्न नसकेको ऋण
फिर्न नसकेका दिन
तर तिमीले उसलाई एउटा अपराधी घोषणा गरिदयौ।
तिम्रो व्यवस्थाले छाला च्यातेपछि
हुनसक्छ ऊ यो देश छोड्न हिँडेको थियो
साहूले घरको ढोका ढक्ढकाएपछि
हुनसक्छ ऊ किस्ताको जोहो गर्न हिँडेको थियो
भोकले पेटमा सारङ्गी बजाएपछि
हुनसक्छ ऊ पठाओ चालक बनेको थियो
भोकैप्यासै, निदआराम नभनी
हुनसक्छ ऊ
बाको दमको औषधिको जोहो गर्न
आमाको रोगी शरिरको सहारा बन्न हिँडेको थियो
तिमीले उसको घाँटीमा ‘ह्विललक’ लगाएर
एउटा अपराधी घोषणा गरिदियौ ।
उसले लगाएन आगो सिंहदरबारमा
लेखेन फेसबुकमा– मलाई दु:ख दिने यो सरकारलाई टुकुचामा गाडिदिन्छु
रगतको होली नखेलिकनै
रगतले प्यास मेट्छु नभनिकनै
चुपचाप लगायो आफ्नै शरीरमा आगो ।
अब बाटो ढुकेर उसलाई
कुर्ने छैन कुनै नगरप्रहरीले
तर कुरिरहनेछन् बाआमाले उसलाई
अब सम्झिनेछैन तिम्रो गरिबमारा सरकारले उसलाई
तर सम्झिरहनेछन् दाइले उनलाई
अपमानसँग जुध्दाजुध्दै
उसले लगायो आफ्नै शरीरमा आगो
तर याद गर
सुरक्षित नसम्झ आफूलाई
भूइँमा फैलिएको आगोको यो लप्का
एकदिन भूइँभरि फैलिनेछ
फैलिनेछ चारकिल्लाभित्रको
तिम्रो तह-तहको बाक्लो सुरक्षा घेराभित्र पनि































