
काठमाडौं । चेल्सी इग्लिस प्रिमियर लिगको उपाधीको यात्रामा बलियो बन्दै गएको छ । शनिबार राति भएको खेलमा चेल्सीले स्वान्सी सिटीलाई ३–१ ले हराउँदै शीर्ष स्थानमा अग्रता फराकिलो बनाएको हो ।
आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन गराउन स्पेनिस खेलाडीहरु सेस फाब्रिगास, पेड्रो र डिएगो कोष्टाले एक एक गोल गरे । स्वान्सीका लागि फर्नान्डो लोरेन्टेले एक गोल फर्काए ।

राति भएको अर्को खेलमा एभर्टनले सण्डरल्याण्डलाई २–० ले हरायो । खेलमा एभर्टनलाई विजयी गराउन रोमेलु लुकाकु र ईद्रीसा गानाले एक एक गोल गरे ।
यसैगरी क्रिष्टल प्यालेसले मिडिल्सब्रोलाई १–० ले हराउँदा वेष्ट ब्रोमले बर्नमाउथलाई २–१ ले स्तब्ध बनायो ।
प्रिमियर लिग अन्तर्गत अरु खेलमा हल सिटी र बर्नली तथा वाट्फोर्ड र वेष्ट ह्याम युनाईटेडले १÷१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २६ खेलबाट ६३ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५२ अंकसहित दोस्रो स्थानमा छ भने ५० अंकको साथ टोटनह्याम हट्सपर तेस्रो स्थानमा छ ।
समान ५० अंक जोडेको आर्सनल गोल अन्तरको आधारमा चौथो स्थानमा छ ।