दुई वर्षअघि नेपाल कम्युनिस्ट पार्टी–माओवादी (हाल क्रान्तिकारी माओवादी) बाट सम्बन्ध विच्छेद गरेर ‘एकीकृत क्रान्ति’ को नारा बोकेर हिँडेको विप्लव समूहका नामले पचिरित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले भर्खरै आफ्नो पार्टीको पहिलो महाधिवेशन सकेको छ ।
विप्लवले रहस्यमय किसिमले कमरेड किरणको नेतृत्वमा रहेको माओवादी पार्टी किन त्यागे, त्यसको सरोफोरोमा सम्बन्ध र सन्दर्भलाई लिएर केकस्ता प्रश्नहरू उठेका थिए, नयाँ पार्टी बनाएपछि उनले के भने, के गरे इतिहासका सन्दर्भमा यसको चर्चापरिचर्चा भइरहने भए पनि यहाँ अहिले यो सन्दर्भ  चर्चाको विषय होइन । उनको पार्टीको सङ्घर्षको स्वरूप र चरित्रले बर्न्स्टिन प्रवृत्तिलाई प्रतिनिधित्व गरे पनि अन्य माओवादी घटकको तुलनामा सडकमा विप्लव समूहले आफ्नो उपस्थिति जनाएको यथार्थलाई स्वीकार गर्नुपर्ने हुन्छ ।  सङ्घर्षको साइनो र सन्दर्भ “आर्थिक जोहो” सित जोडिएको भनेर टिप्पणी गरिए पनि राष्ट्रियता र जनजीवीकाका मुद्दाहरूप्रति सो समूहको सापेक्षित चासो र क्रियाशीलता सकारात्मक पक्ष हो भनेर स्वीकार गर्नुपर्छ ।

नेपाल कम्युनिस्ट पार्टी–माओवादीसित सम्बन्ध–विच्छेद् गर्दा उनले प्रस्तुत गरेको दस्ताबेजमा प्रस्तुत विचारका विविध पक्ष र क्रान्तिकारी तप्काबाट गरिएको वैचारिक तथा राजनीतिक पक्षहरूका साथै कार्यदिशालगायतका सन्दर्भहरूसम्बन्धी संश्लेषण सही रहेछ भन्ने कुरा अब आएर प्रस्ट भएको छ ।  थुप्रै विषयमा प्रश्न उठेका भए पनि मूलतः विप्लवले माओवादको न्यूनीकरण गरेको र नयाँ जनवादी क्रान्तिको कार्यदिशा छोडेको भनेर निकालिएको निष्कर्ष यहाँसम्म आउँदा साबित भएको  छ ।

महाधिवेशनमा केही  भाषागत परिमार्जन सामान्य  थपघट होला, दस्ताबेजमा त्यति ठूलो फेरबदल हुने छैन, केन्द्रीय  समतिले पेश गरेपछि बहस भए पनि नेतृत्व पङ्क्तिले चाहेको कुरा फेरिएको चलन छैन र त्यसलाई पास गराउन ताली पिट्न लगाइनेछ ने । फेरि विप्लव समूहमा तलबाट गहन वैचारिक बहस हुने र गर्ने स्थिति पनि देखिँदैन । त्यसैले एक हिसाबले त्यो पारित भइसकेको दस्ताबेज हो र महाधिवेशन एउटा प्रक्रिया पूरा मात्र हो भनेर बुझ्नुपर्ने हुन्छ ।

समग्र दस्ताबेज अध्ययन गर्दा महाधिवेशनको दस्ताबेज पार्टी सम्बन्ध विच्छेद गर्दाको दस्ताबेज भन्दा सारतत्वका दृष्टिले खासै फरक छैन, बरू कतिपय सन्दर्भमा यसले विचलनको दिशा समातेको छ ।  पहिले सन्ध्या भाषामा लेखिएका कुराहरू अहिले खुलेरै आएका छन् । शब्दजाल, छलछाम, वाक्छल, भाषाको भ्रमपूर्ण प्रयोग र एकअर्कामा  बाझिने किसिमका सन्दर्भहरूले दस्ताबेज भरिएको छ तापनि हिजोझैँ अब विप्लव समूहले भ्रम दिनसक्ने स्थिति छैन । विप्लव समूहको गन्तव्यका बारेमा दस्ताबेजमा सबै कुरा खुलेर आएका छन् ।

दस्ताबेजमा थुप्रै विरोधाभासपूर्ण कुराहरू छन् । दार्शनिक तथा वैचारिक–राजनीतिक दृष्टिले त्रुटिपूर्ण कुराहरू छन् र केही कुराहरू निकै गम्भीर प्रकृतिका छन् । सबैको विस्तृत र लामो विश्लेषण आवश्यक छ तापनि  यहाँ सम्भव छैन । तल केही महत्त्वपूर्ण पक्षमा प्रकाश पार्ने प्रयास गरिएको छ ।

१. पार्टीको नामबाट माओवाद हटाउने कुरा सरसरती हेर्दा त्यति ठूलो कुरा होइन, तर यो सम्पूर्ण कुरा हो । यही तर्कका आधारमा “जनताको हित गर्ने हो, उद्देश्यबाट विमुख नभए भयो, ‘नेपाल जनता पार्टी’ नाम राखे पनि हुन्छ भन्न सकिन्छ । नाम परिचय अथवा रूप मात्र होइन,  कम्युनिस्ट पार्टीमा नाम सारतत्व पनि हो । दस्ताबेजमा नाम हटाउने सन्दर्भमा जेजस्तो तर्क दिइएको छ, त्यो  औचित्यपूर्ण र चित्तबुझ्दो छैन । साम्राज्यवादले त  कम्युनिस्ट पादावली मात्र होइन, सामान्य रूपमा समाजवाद पदावली पनि सुन्न चाहँदैन । यसको बदनाम गर्छ, जनताका आँखामा यसको आवश्यकता र औचित्चयबारे प्रश्न उठाउँछ, सिध्याउन खोज्छ । युरोपमा साठीदेखि असीको दशकमा यो रोगले विश्व कम्युनिस्ट आन्दोलनलाई नराम्रो गरी गाँज्यो । जसले साम्राज्यवादको हौवाबाट नाम फेरे अन्ततः ती नामसँगै हराएर गए, जसले अडान लिएर सङ्घर्ष गरे,ती अगाडि बढे ।

‘माओवादी’ पुच्छरको आवश्यकता छैन भनेर प्रचण्ड–बाबुरामले एक दशकअघि नै नेपालदेखि अमेरिकासम्म पुगेर साम्राज्यवादलाई आश्वस्त पार्न खोजेका हुन् । माओवाद पुच्छर पनि होइन, सामान्य नाम मात्र पनि होइन, यो लोगो त हुँदै होइन, यो मूल्य हो र क्रान्तिकारिताको परिचायक हो, विशिष्ट चिनारी हो । यसले भिन्नै उदात्तता प्रदान गर्छ,  दुस्मनले भ्रम सिर्जना ग¥यो, जनतामा बदनाम पारियो भयो भनेर नामबाट माओवाद पदावली हटाउनु भनेको आफैँमाथि विश्वास नहुनु हो, यो निरासाभावको उपज हो । नाम फेर्ने सम्बन्धमा विप्लव समूले जुन तर्क अघि सारेको छ, यो एक हिसाबले पलायनता हो ।

दस्ताबेज पढिसकेपछि पहिले नामबाट माओवाद हटाउने र पछि विस्तारै कामबाट पनि माओवाद हटाउन खोजिएको त होइन भनेर प्रश्न उठाउनुपर्ने आधारहरू देखापर्छन् । दस्ताबेजमा  माओ र लेनिनका बारेमा जेजस्ता धारणा व्यक्त गरिएको छ, त्यहाँ प्रश्न उठाउनुपर्ने प्रशस्त ठाउँहरू छन् । बुझिने गरी नै अबको क्रान्तिमा लेनिन र माओ असान्दर्भिक छन्  भन्न खोजिएको छ । यसबाट विप्लव समूहले विस्तारै पार्टीको निर्देशक सिद्धान्तकै रूपमा माओवादलाई बिदा दिन खोजेको र अहिले निर्देशक सिद्धान्तबाट नै माओवाद हटाउँदा कायकर्ता तहबाट प्रश्न उठ्ने भएकाले भोलिका लागि गरिएको कतै यो गृहकार्य त होइन ? भनेर प्रश्न उठ्नु र उठाउनु स्वाभाविक भएको छ । नाम हटाउने कुराले यसको गन्तव्यलाई सङ्केत गर्छ । वास्तवमा यो विचलनतर्फको यात्राका लागि पाइतो सराइ हो ।

२. दस्ताबेजका साथै महाधिवेशनको सेरोफेरोमा प्रकाशित विप्लव समूहका प्रकाशनमा पनि विप्लवले लेनिन र माओका लाइनसम्बन्धी यस्तै खाले तर्क गरेका छन् । लेख होस् अथवा दस्ताबेज उनको एउटै निष्कर्ष रहेको छ स् अब नेपालमा लेनिन र माओले देखाएको बाटोबाट क्रान्ति सम्भव छैन । यसका लागि उनको आफ्नै मनचिन्ते व्याख्या छ । क्रान्तिकारीहरूले नकारात्मकतामा पनि सकारात्मकता देखेर सचेतन प्रयासद्वारा क्रान्तिका लागि आवश्यक वैचारिक तथा भौतिक तयारी गर्छन् । तर संशोधनवादीहरू कतै पनि उज्यालो देख्दैनन् र आफ्नो मानसिकता र बुझाइलाई सहयोग पुग्ने गरी राष्ट्रियरअन्तर्रा्ष्ट्रिय स्थितिको  व्याख्या–विश्लेषण गर्छन् र त्यसैअनुरूप पार्टीको नीति र कार्यक्रम तयार गर्दै विचलनको यात्रा तय गर्छन्  ।

 विप्लवको भनाइ लेनिन र माओको बाटोमा हिँडेकाहरूबाट पेरू, नेपाल कतै पनि क्रान्ति सम्पन्न नभएकाले लेनिन र माओले देखाएको बाटो भन्दा नयाँ बाटो खोन्नुपर्छ भन्ने रहेको छ  । निकै अगाडि पुगेको क्रान्ति किन सम्पन्न हुन सकेन, विचार र कार्यदिशामा समस्या हो अथवा नेतृत्व पक्षमा भन्ने कुराको वैज्ञानिक आधार र कारण खोज्नेतिर भन्दा विप्लवले लेनिन र माओको पछि लागेर फेरिएको समयअनुसार बाटो नलिएकाले क्रान्ति सम्पन्न हुन नसकेको निष्कर्ष निकालेका छन् र लेनिन र माओको बाटोलाई खारेज गरेका छन् । पार्टीको वैधानिक प्रकाशन “एकीकृत आवाज” २०७३, माघ, पृ. ५मा उनले भनेका छन् स् “लेनिनको तरिकाले  विद्रोह सम्भव देखिँदैन, माओको तरिकाले जनयुद्ध , त्यो पनि सम्भव देखिएन, सजिलै भनिदिउँ, त्यो पनि भएन, यसको बहस हुँदैजाँदा हामीले उपाय निकाल्दै संश्लेषण गर्यो —‘एककिृत क्रान्ति’ ।” यही कुरा दस्ताबेजमा पनि भनिएको छ । दस्ताबेजमा ठाउँठाउँमा नेपालको माओवादी आन्दोलन असफल भएको, पराजित भएको भनेर उल्लेख गरेका छन् । वास्तवमा नेपालको माओवादी आन्दोलन पराजित भएको पनि होइन, असफल भएको पनि होइन, यसले धक्का खाएको हो, हारेको होइन, असफल होइन, माओवाद असान्दर्भिक भएर पनि होइन, गलत भएर पनि होइन । यो नेतृत्व तहबाट गरिएको आत्मसमर्पणको उपज हो ।  वाह्य शक्तिको कारिन्दा बनेर यसलाई असफल बनाइको हो । अलि पछि गएर विप्लवले जनयुद्ध नै बेठीक भएकाले त्यो असफ भयो भने पनि आश्चर्य मान्नु पर्ने छैन । उनले यस किसिमको भाव पार्टी मुखपत्र ‘जनक्रान्त्ति’ मा व्यक्त गरिसकेका पनि छन् ।

३. पार्टी फुट हुँदाको दस्ताबेजमा विप्लवले पेरिस कम्युनदेखिको माओसम्मको समग्र इतिहास खारेज गरेका थिए । त्यसमा  उनले नयाँ जनवादी क्रान्तिको आवश्यकता र सन्दर्भको कतै उल्लेख गरेका थिएनन् । यसलाई लिएर उनले ‘उत्तर(माओवाद’ को वकालत गरेको भनिएको थियो र यो सही पनि थियो । अहिले त्यसरी ठाडै नभने पनि सारतत्त्व  उही छ । वास्तवमा माओवादले देखाएको  बाटोबाट क्रान्ति नहुने भएपछि नेपाली क्रान्तिको न्युनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति नहुनु स्वाभाविक थियो । शब्दजालमार्फत केही  भ्रम दिन खोजे  पनि विप्वलले नेपालमा नयाँ जनवादी कार्यक्रम असान्दर्भिक भनेर घोषणा गरेका छन् । पत्रिका ‘एकीकृत  आवाज’ मा उनी भन्छन् स्  “नेपाली क्रान्तिको राजनीतिक क्रार्यक्रम पनि नोलो जनवादी मात्र भनेर हुँदैन । यसको अर्थ हो, राजनीतिक कार्यक्रमलाई माथि उठाउनु । त्यसो गर्दा नेपाली राजनीतिक कार्यक्रम नयाँ जनवादसहित वैज्ञानिक समाजवादी हुनु सही हुन्छ ।”

 सरसरती हेर्दा यो भनाइ सारसङ्ग्रहवादजस्तो देखिए पनि अबको नेपाली क्रान्तिका न्यूनतम कार्यक्रम समाजवाद नै हो भन्न खोजिएको  हो । यसलाई दस्ताबेजमा यसरी प्रस्तुत गरिएको छ स् “अब नेपालको राजनीतिक कार्यक्रम नयाँ जनवादी नभएर वैज्ञानिक समाजवादी हुनु वैज्ञानिक र वस्तुवादी हुन्छ । वस्तुस्थितिले माग गरिसकेको राजनीतिक कार्यक्रम तय गरेर अगगाडि बढ्दा नै क्रान्तिको वरिपरि नयाँ मित्र र सहयोगी शक्तिको ध्रुवीकरण र मोर्चाबन्दी  पनि फराकिलो भएर जानेछ । तसर्थ नेपालको आउँदो राजनीतिक कार्यक्रम वैज्ञानिक समाजवादी अपनाउनु सही छ ।”

यो भनाइ निकै अर्थपूण छ, साथै गम्भीर पनि  । यसबाट विप्लव समूहले  नयाँ जनवाद खारेज गरेको कुरा पुष्टि हुन्छ । “वस्तुस्थितिले माग गरिसकेको राजनीतिक कार्यक्रम तय गरेर अगाडि बढ्दा नै क्रान्तिको वरिपरि नयाँ मित्र र सहयोगी शक्तिको ध्रुवीकरण र मोर्चाबन्दी  पनि फराकिलो भएर जानेछ” , भन्ने भनाइले समाजवादी कार्यदिशा अँगालेको प्रचण्ड समूह र मध्यम वर्गलाई जोड दिने बाबुरामातिर सङ्केत गरेको कुरा सहजै बुझ्न सकिन्छ । यस अर्थमा विप्लव समूहको सहकार्य किरणतिर भन्दा ’’नयाँ मित्र र सहयोगी शक्तिहरू“  प्रचण्ड–बाबुरामसित हुने कुरा निश्चित छ । समयक्रममा यी ’’नयाँ मित्र र सहयोगी शक्तिहरू’’ बढ्दैजानु स्वाभाविक छ.

४.‘उत्तर’ अवधारणा अर्थात् ’अन्त्य’ को सिद्धान्तप्रति पनि विप्लव समूहको आकर्षण बढेको देखिन्छ ।  फ्रान्सेली राज्यक्रान्तिले अघि सारेका भौतिकवादी आधुनिक मूल्यमान्यता र यसलाई समृद्ध पार्ने  मार्क्सवादका  विरुद्ध दार्श्निक, वैचारिक र व्यावहारिक तहमा साम्राज्यवादले अघि सारेको अन्त्यको सिद्धान्त “उत्तरवाद” लाई स्वीकार गर्दै विप्लव समूहले “उत्तरसाम्राज्यवाद” (post-imperialism) वकालत गरेपछि यसले अन्योल मात्र उत्पन्न नगरी अचम्मै मान्नुपर्नै स्थिति उत्पन्न भएको छ  ।

साम्राज्यवादले नित्सेलाई अङ्कमाल गर्दै शून्यवादको सहारा लिएर सबै कुराको अन्त्य भयो, “उत्तर“ (Post) भयो भन्यो । यसले पदार्थ र चेतनासम्बन्धी वैज्ञानिक मान्यतामाथि धावा बोल्यो । यथार्थको अन्त्य भयो, मार्क्सवादको  अन्त्य भयो भन्यो । यसले ‘उत्तर–मार्क्सवाद’ लाई अघि सार्यो  । “उत्तर” अर्थात् अन्त्यको सिद्धान्त प्रयोग गर्दै उपनिवेशवाद पनि अन्त्य भयो, साम्राज्यवाद पनि अन्त्य भयो, अर्थात् “उत्तर” भयो भन्यो र ‘उत्तर–उपनिवेशवाद’ र ‘उत्तर–साम्राज्यवाद’ को धारणा अघि सार्यो ।  “उत्तर” अवधारणालाई मार्क्सवादको अन्त्यसित मात्र जोडेन, साम्राज्यवादको अन्त्यसित पनि जोडेर यसले आफ्ना आततायी र आतङ्कारी व्यवहारमाथि पर्दा लगाउन खोज्यो । जसरी “उत्तर–माक्र्सवाद” को अर्थ  आजको मार्क्सवाद, फेरिएको मार्क्सवाद होइन, त्यसैगरी “उत्तरसाम्राज्यवाद” भनेको साम्राज्यवादको “फेरिएको”  ’’पछिको वा पछिल्लो” चरित्र होइन, बरु साम्राज्यवादको अन्त्य भयो, यो “उत्तर”  (post) भयो भनिएको हो ।  संसारभरिका मार्क्सवादीहरूले बुझेको र व्याख्या गरेको सत्यतथ्य यही हो । यसो नभएर कसैले “उत्तरमाक्र्सवाद” भनेको अहिलेको माक्र्सवाद हो र “उत्तरसाम्राज्यवाद” भनेको अहिलेको साम्राज्यवाद हो भनेर अड्डी कस्छ भने लेनिनले के गर्ने ? मा भन्नुभएझैँ “धापैतिर लाग्नसमेत तपाईँहरू स्वतन्त्र हुनुहुन्छ” भन्नुपर्ने हुन्छ ।

जानेर होस् अथवा नजानेर विप्लको लेखन र कथनमा यो सन्दर्भले  निरन्तर ठाउँ पाएको छ ।  कहिलेकाहीँ भूलले अथवा बुझाइमा रहेका समस्याले यस्ता विरोधासपूर्ण  र गलत  पदावलीको प्रयोग हुन्छ । मार्क्सवादी त्यो हो, जो  आफ्ना गल्तीबाट सिक्छ, जो गल्ती सच्याउन उत्साहित र तत्परता देखाउँछ । गल्तीकमजोरी महसुस गरेर सच्याउनु तथा सुधार्नु, सानो हुनु र कमजोर देखिनु होइन, बरु मार्क्सवादप्रति  प्रतिबद्धता जनाउनु हो । असली मार्क्सवादीले अहंका रूपमा लिएर कालोलाई रातो भनेर जिद्दी  गर्दैनन् । पदावलीका आधारमा भन्दा विप्लवको चिन्तनलाई साम्राज्यवादपरस्त बुझाइ भन्न सकिन्छ ।

अवश्य पनि हो, साम्राज्यवाद हिजोको जस्तो छैन, तर “उत्तर’” (post)  भएको छैन । आजको वित्तीय पुँजीवाद  हिजोको भन्दा झन् खतरानाक मिसनमा छ ।

५. विप्लव समूहको दस्ताबेजमा दुई लाइन सङ्घर्षबारे पनि भ्रमपूर्ण धारणहरू आएका छन् । मार्क्स(एन्ग्लेस  स्थापित, लेनिनद्वारा विकसित र माओद्वारा समृद्ध बनाइएको दुई लाइन सङ्घर्षसम्बन्धी सैद्धान्तिक मान्यतालाई दस्ताबेजमा खारेज गरिएको छ र ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को मूल्यमाथि धावा बोलिएको छ । पार्टीमा आफू खुसी गर्न, पेतोफी क्लबमा पार्टीलाई परिणत गर्न एक समय बाबुरामले अघि सारेको  धारणाको पक्षमा उभिनु भनेको बाबुरामलाई गुरु थाप्नु हो । यो गम्भीर विचलनको द्योतक  हो । यसले विश्वदृष्टिकोमा देखापर्ने भिन्नता,  पदार्थ, चेतना र प्रतिविम्बनसम्बन्धी मार्क्सवादी मान्यतालगायत पार्टीको गति र जीवन सम्बन्धी माओले अघि सार्नुभएको मान्यतालाई खारेज गर्छ र पार्टीमा देखापर्ने अन्तर्विरोध र मतभेदलाई नितान्त व्यक्तिगत धारणामा सीमितीकरण गर्छ  । साथै यसले विपरीतहरूको एकत्त्व र एकको दुईमा बिभाजनसम्बन्धी माओवादी मूल्यलाई खारेज गरेको छ  िदस्ताबेजमा लेखिएको छ स् “  “विपरीतको सङ्घर्ष र दुईलाइन सङ्घर्ष एउटै बुझ्ने तरिका सही हुने देखिँदैन । पार्टी जीवनका लागि विपरीतको अस्तित्व अनिवार्य हो, तर दुईलाइन सङ्घर्ष अनिवार्य होइन । अर्थात् दुई लाइन सङ्घर्ष र विपरीतको एकत्व एउटै नभएर फरकफरक पक्ष हुन् । पार्टीमा विपरीतको अस्तित्व भन्नाले सहजातीय या सहवर्गीय विचारबीचको प्रतिस्पर्धा र अनुसन्धान हो तर विपरीत विचार पार्टीको विभाजन वा विघटन हो । त्यो सँगसँगै लामो समय रहनसक्ने विषय होइन । एकले अर्कोलाई परास्त गर्ने विषय हो ।”
दुई लाइन सङ्घर्ष सम्बन्धमा माओवादी मान्यतालाई खारेज गर्दै आएको यस किसिमको भनाइ साँच्चिकै गम्भीर छ । यसले मार्क्सवादी द्वन्द्वात्मक भौतिकवादको आधारभूत सिद्धान्त र व्यवहारको निषेध गर्छ । पार्टीमा देखिने दुई लाइन सङ्घर्ष कहिले खुला देखिने र कहिले सेती नदीझैँ भित्रभित्रै बगिरहेको हुन्छ भन्ने भनाइलाई निषेध गर्छ ।  यसको लामो व्याख्या आवश्यक छ तर, यहाँ सम्भव छैन ।  ‘रिम’ को प्रकाशन ‘ए वल्र्ड टु विन’ मा ‘एल डियारियो इन्टर्नेस्नल’का सम्पादक आर्क बोर्जालाई १९९५ मा केजेएले ‘ दिएको जवाफ ‘अन दि माओइस्ट कन्सेप्ट अफ टु लाइन स्ट्रगल’ पढ्न विप्लव समूहका नेताहरूलाई अनुरोध गर्छु । दुई लाइन सम्बन्धी धारणाले पार्टीमा विचारको न्यूनीकरण मात्र गरेको छैन, क्रान्तिकारी पार्टीको  आधारभूत चरित्रमाथि पनि प्रश्न उठाएको छ ।

 ६. माओको मृत्युपछि चीनमा भएका परिघटनाहरूलाई लिएर क्रान्तिकारीहरूले चीनमा प्रतिक्रान्ति भएको ठहर गरे र  विश्वमा समाजवादी मुलुक नभएको निष्कर्ष निकाले । खास भोगौलिक अवस्थाका कारण खास मुलुक साम्राज्यवाद विरोधी हुनसक्छ तापनि विश्वमा समाजवादी मुलुक नरहेको ठहर माओवादीहरूको रह्यो ।  साम्राज्यवाद तथा विस्तारवादसित लड्दा उसबाट प्रताडित कुनै पनि मुलुकले अर्को प्रताडित मुलुकप्रति सकारात्मक धारणा राख्ने एउटा कुरा हो र त्यसलाई समाजवादकै रूपमा हेर्ने कुरा अर्कै हो । जस्तो दस्ताबेजमा लेखिएको छ स्
“आफ्नै विशेषतामा भए पनि चीन, उत्तरकोरिया, क्युवा, भियतनाम आदि देशहरूले ‘समाजवादी सत्ता’ सञ्चालन गरिरहेका छन्  भने कैयौँ देशमा साम्राज्यवाद विरोधी समाजवादी पार्टीहरूको सरकारको नेतृत्व गरिरहेका छन् ।”

यो भनाइ विश्वका क्रान्तिकारीहरूको ठहरभन्दा फरक भनाइ हो । यसले राज्यसत्ताका सम्बन्धमा मालेमावादी मान्यतालाई अस्वीकार गर्छ  ि मालेमाका आधारभूत मान्यताभित्र रहेर व्याख्या गर्दा दस्ताबेज यस सन्दर्भमा मालेमाको विपक्षमा उभिएको छ । वास्तवमा यो उपभोक्तवादी दक्षिणपन्थी सोचाइ हो ।

७. नेपालमा कम्युनिस्ट पार्टीको  स्थापनाको  दिनलाई लिएर केही विवाद भए पनि माओवादीरूले मान्दैआएको स्थापना दिन अप्रिल २८, २००६ अर्थात् वैशाख १० हो । इतिहासकार सुरेन्द्र केसीलगायत कतिपयले १५ सेप्टेम्बरलाई मानेका छन् । दस्ताबेजमा दुवै मितिभन्दा फरक लेखिएको छ स् “नेपालमा सन् १९४९ डिसेम्बर २२ मा भारतको कलकत्तामा नेपाल कमयुनिस्ट पार्टी गठन भयो ।” यसको आधार दस्ताबेजमा दिइएको छैन । तथ्यहरूका आधारमा हेर्दा यो भनाइ गलत साबित हुन्छ । अप्रिल २८, १९४९  अर्थात् वैशाख १०, २००६ लाई नै नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस मान्नु सही हुन्छ ।

८. यताका दिनहरूमा  नेपालको कम्युनिस्ट आन्दोलनमा वर्गीय प्रश्नलाई भन्दा जातीय प्रश्नमा ध्यान दिइएको  कारण आन्दोलनमा गतिमन्दता आएको कुरा सार्वभोम सत्य हो ।  वर्गीय प्रश्नलाई बेवास्ता गर्दा  कम्युनिस्ट नारा, धारणा र आन्दोलन पछि परेको छ र साम्राज्यवादलाई आफ्नो एजेन्डालाई अगाडि ल्याउन सहज भएको छ । विप्लवका व्यक्तिगत धारणामा यसमा केही प्रस्टता पाइए पनि दस्ताबेज भने यस मामिलामा प्रस्ट छैन । दस्ताबेजमा लेखिएको छ स् “जातीय मुक्तिलाई सुनिश्चित गर्न देशलाई सङ्घीय संरचनामा राखिनेछ भने देशको राज्यव्यवस्था वैज्ञानिक समाजवादी रहनेछ । कुनै पनि राष्ट्रले अधिकार हनन र उत्पीडनको महसुस  गरेमा आत्मनिर्णयको अधिकार प्राप्त गर्न सक्छन् ।”
यो भनाइ आफैँमा विरोधाभासपूर्ण छ । नेपालका राष्ट्रहरू (nation) को स्थिति र परिभाषा आफैँमा प्रस्ट छैन । विप्लव समूहले जसरी राष्ट्रहरूको स्वरूपलाई अघि सारेको छ, यो विवादास्पद छ र यसबाट उनलाई  राष्ट्र (लबतष्यल) बारे सामान्य ज्ञान पनि नभएको बोध गर्न सकिन्छ ।  दस्ताबेजमा नेपालमा  १३ ओटा राष्ट्रहरूको उल्लेख छ स् १) क्षेत्री–ब्राम्हण, २) थारू,  ३)  मगर, ४) गुरुङ,  ५) नेवार, ६) तामाङ,  ७) अवध,  ८) भोजपुरा, ९) मिथिला, १०) राई, ११) लिम्बु, १२) कर्णाली , १३) सेती–महाकाली खसान ।
माथिको विवरणले राष्ट्र (लबतष्यल)को परिभाषालाई समेट्तैन । साथै नेपालको सन्दर्भमा ’’आत्मनिर्णयको अधिकार“ सैद्धान्तिक साथै व्यावहारिक तहमा पनि वैज्ञानिक र सही छैन । रूसको विशिष्ट अवस्था र क्रान्तिको विशिष्ट चरणमा लेनिनले अघि सार्नुभएको र पछि स्टालिन र माओले त्यसको सान्दर्भिकता समाप्त भएको भनेर घोषणा गर्नुभएको “आत्मनिर्णयको अधिकार” जस्तो घातक अवधारणाप्रति पनि विप्लव समूह पनि भ्रममा परेको देखिन्छ । वर्गीय प्रश्नभित्र नै सबै उत्पीडित जातजाति, क्षेत्र र लिङ्गको समस्या हल गर्नुपर्छ र गर्न सकिन्छ भन्ने कुरा बुझ्नु नै मार्क्सवादलाई बुझनु हो ।

९.  कमरेड स्टालिनको विषयलाई दस्ताबेजमा महत्त्वका साथ उठाइएको छ । यो सही छ,  आवश्यक छ । तर, माओ जसरी स्टालिनका पक्षमा प्रतिरोधका साथ उभिनुभयो, त्यसलाई  न्यूनीकरण गर्न खोजिएको छ । माओले पनि स्टालिनको न्यूनीकरण गरेको भनिएको छ । दस्ताबेजमा लेखिएको छ,  “माओले गरेको विश्लेषणलाई पनि क्रान्तिकारीहरूले पुर्नमूल्याङ्कन गर्नुपर्ने देखिन्छ ।” माओ स्टालिनका पक्षमा, वहाँको प्रतिरक्षाका लागि कसरी उभिनुभयो भन्ने कुराका लागि  ‘महान् बहस’ अध्ययन गर्नु जरुरी छ  । मनोगतवादी मूल्याङ्कनले होक्जावादको शरणमा पुर्याउँछ ।

१०. दस्ताबेजको समग्र अध्ययनपछि हिजोका झैँ आज पनि कार्यदिशाको प्रश्न अन्योलग्रस्त र दिशाहीन रहेछ भनेर बुझन् सकिन्छ । सबैभन्दा महत्वपूर्ण प्रश्न नै यस्तो भएपछि यसको गन्तव्यबारे पनि अन्योल हुनु स्वाभाविक छ । कार्य दिशाका सन्दर्भमा एक हिसाबले विप्लब समूह अगाडिको बाटो प्रस्ट नभएको र पछाडि पनि फर्किन नमिल्ने सुरुङमा पसेको छ

अन्त्यमा

हिजो नेपाल कम्युनिस्ट पार्टी–माओवादीबाट सम्बन्ध–विच्छेद गर्दाभन्दा अहिलेको दस्ताबेजमा विचलनका आधारहरू बढी खुलेर आएका छन् । विप्लव समूहले माओवाद नाममा मात्र होइन, सारतत्वमा पनि त्यागेको, नयाँ जनवादी क्रान्ति र यससित सम्बद्ध पक्षलाई त्यागेको र समाजवादी कार्यदिशालाई न्यूनतम कार्यक्रम मानेको छ  ।  “वस्तुस्थितिले माग गरिसकेको राजनीतिक कार्यक्रम तय गरेर अगाडि बढ्दा नै क्रान्तिको वरिपरि नयाँ मित्र र सहयोगी शक्तिको धु्रवीकरण र मोर्चाबन्दी  पनि फराकिलो भएर जानेछ ।” यस भनाइले विप्लव समूहको गन्तव्य यात्रा र सहयात्रीहरूबारे  आकलन गर्न सकिन्छ ।

कार्यदिशाको सन्दर्भमा हेर्दा विप्लव समूहको नयाँ निर्णय प्रचण्ड समूहको नजिक पुग्छ । विप्लवले संसद्वाद र  अहिलेको संविधानको विरोध गरेका छन्, तर उनले नयाँ मित्र र सहयोगीको पनि कुरा गरेका छन् । यस अर्थमा कार्यदिशाका सन्दर्भमा प्रचण्डको नेतृत्त्वमा रहेको माओवादी केन्द्र उनको  नजिक छ । साथै मध्यमवर्गप्रति विप्लवको आशक्तिले उनलाई बाबुरामको नजिक पुर्याउनु स्वाभाविक छ । यो दस्ताबेजका आधारमा विप्लव र मोहन बैद्यबीचको दूरी बढ्ने  देखिन्छ र  प्रचण्ड–बाबुरामसित “नयाँ मित्र र सहयोगी शक्तिको ध्रुवीकरण र मोर्चाबन्दी”को आधार तयार हुनथालेको देखिन्छ ।

 यसरी हेर्दा अब माओवादी नामको सेरोफेरोसित एउटा ध्रुव प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र हुन्छ र अर्को ध्रुव मोहन बैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादी हुन्छ ।  विप्लव र बाबुरामको केन्द्र पनि  अन्ततः  प्रचण्डकेन्द्र नै हुनेछ ।  यसरी हेर्दा प्रचण्ड, बाबुराम र विप्लव एउटा ध्रुवमा र मालेमा र नयाँ जनवादी क्रान्तिका पक्षधरहरू अर्को ध्रुवमा उभिनेछन् । सारतत्व छोडी सकेपछि नामबाट मात्र होइन, निर्देशक सिद्धान्तबाट नै प्रचण्ड र विप्लवले माओवाद पदावली हटाउनु राजनीतिक इमानदारी हुनेछ ।

यस अर्थमा नेपालको माओवादी आन्दोलन निकै जटिल मोडमा छ । यो अहिलेको यथार्थ हो । दुई ध्रुवमा विभाजित यो आन्दोलनलाई क्रान्तिकारी धारको नेतृत्व गर्ने विश्वासका आधारहरू के मोहन बैद्यले निर्माण गर्लान् ? भन्ने प्रश्न उठ्नु पनि यतिखेर स्वाभाविक भएको छ । समयले यतिखेर आफ्नै टाउकामा आफैँले आगो लगाउने नेतृत्वको माग गरेको छ र इतिहासको निर्मम समीक्षाका साथ शुद्धीकरण र सुदृढीकरण अभियानसहित नयाँ क्रमभंगको माग गरेको छ । समाजवादी कार्यदिशालाई आधार मानेर विप्लवले “नयाँ मित्र र सहयोगी शक्तिको ध्रुवीकरण र मोर्चाबन्दी”को आह्वान गरेझैँ अब मालेमा र नयाँ जनवादी क्रान्तिका पक्षधरहरू सामु पनि नयाँ मोचाबन्दी गर्नुपर्ने चुनौती आएको  छ ।  हेरौं समय कसरी अघि बढ्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर