९० डलर लिएर यसरी भयो किम जोङ नामको हत्या

९० डलर लिएर यसरी भयो किम जोङ नामको हत्या

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको नाटकीय हत्याको पर्दाफास भएको छ ।

उनको हत्यामा संलग्न युवतीले आफूले यसका लागि ९० डलर अर्थात करिब ४ सय मलेसियन रिङ्गेट मात्रै लिएको बताएकी छन् ।

हत्या आरोपमा पक्राउ परेकी इन्डोनेसियाकी २५ वर्षीय युवती सिती आइसियासँग मलेसियास्थित इन्डोनेसियाली दूतावासका अधिकारीहरुल राजधानी क्वालालम्पुरमा बयान लिएका थिए ।

बयानका क्रममा उनले आफूलाई किम जोङ नामको अनुहारमा ‘नवजात शिशुको तेल’ पोत्ने मजाक गर्ने भिडियो (प्रांक भिडियो) बनाउने भन्दै ९० डलर दिएको र आफूले त्यसै गरेको बताएकी छन् ।

उनको भनाईअनुसार किम जोङ नामको हत्या षढयन्त्रपूर्वक गराएको र हत्यारालाई समेत फसाएको देखिएको छ । अनुसन्धानबाट अत्यन्तै विषालु नर्भ एजेन्ट भीएक्सबाट किमको हत्या भएको पत्ता लागेको छ । संयुक्त राष्ट्रसंघले नर्भ एजेन्ट भीएक्सलाई नरसंहारकारी हतियार घोषित गरेको छ ।

कुनै समय उत्तर कोरियाको शासनका उत्तराधिकारी मानिएका किम जोङ नामको गत साताको सोमबार मलेसियाको क्वालालम्पुर एयरपोर्टमा दुई महिलाले विशालु पदार्थले आक्रमण गरी हत्या गरेका थिए । नामको हत्याकापछि उत्तर कोरियाको हात रहेको अनुमान गरिएको छ ।

आक्रमणमा संलग्न भएको आरोपमा एक भियतनामी र उत्तर कोरियाली नागरिक समेत पक्राउ परेका छन् । उनको हत्या आरोपमा प्रहरीले ७ जनाको खोजी गरिरहेको छ ।

हत्या आरोपी सिती आईसियासँगको करिब ३० मिनेटको छलफलपछि इन्डोनेसियन सहायक राजदूत एन्ड्रिनो इर्विनले भने, ‘उनले सामान्य रुपमा कसैले यस गतिविधिका लागि अराएको बताइन् । उनीहरु जापानी र कोरियनजस्ता देखिन्थे ।’

मलेसिया प्रहरीका प्रमुख खालिद अबु बाकरले किम जोङ नामको आँखा र अनुहारमा यो विशाली पदार्थले आक्रमण गरी हत्या गरेको जनाएका छन् । यसलाई रसायनिक हतियार कन्भेन्सनले सन् १९९३ देखि प्रतिबन्ध लगाएको थियो ।