
सिरहा, गोलबजार । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय स्कूल विभागले चार दिने मिथिला राज्यस्तरीय स्कुलिङ सुरु गरेको छ । शनिबार सिरहाको गोलबजारमा पार्टी स्कुलिङको उद्घाटन क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सिपी गजुरेल‘गौरव’ले गरेका छन् ।
पार्टीका सचिवालय सदस्य तथा मिथिला राज्यका इन्चार्ज कृष्णदेव सिंह दनुवारले अध्यक्षता गरेको उक्त स्कूलिङ कार्यक्रममा पार्टीका कार्यालय सदस्य तथा स्कुलिङ विभागका प्रमुख परि थापाको उपस्थिति रहेको थियो । पार्टी केन्द्रीय सदस्य तथा स्कुलिङ विभागका सचिव हस्तबहादुर केसीले संचालन गरेको कार्यक्रममा उपस्थित सहभागीलाई केन्द्रीय सदस्य रोशन जनकपुरी‘लाल’ले स्वागत गरेका थिए ।
स्कुलिङ कार्यक्रमको उद्घाटन गर्दै पार्टीका बरिष्ठ नेता सिपी गजुरेलले क्रान्ति कहिल्यै पराजित नहुने भन्दै नेपालको अहिलेको स्थितिलाई रुसको १९०५ को असफल क्रान्तिपछिको स्थितिसँग तुलना गरेर विवेचना गरे । मुलुकमा विद्यमान संकटपूर्ण स्थितिको निकासका लागि वैचारिक स्पष्टता र दृढतासहित सही कार्यदिशाको आवश्यकता पर्ने बताउँदै नेता गजुरेलले विचार र सिद्धान्तले लैस क्रान्तिकारी पार्टी निर्माणका लागि पार्टी स्कुलिङ सुरु गरिएको बताए ।
कार्यक्रममा बोल्दै स्कुलिङ विभाग प्रमुख परि थापाले वैचारिक, राजनीतिक रुपमा पार्टीका नेता कार्यकर्ताहरुको स्तर वृद्ध गर्ने र क्रान्तिकारी पार्टी निर्माण गर्ने पार्टीको नीति अनुसार स्थायी र घुम्ती रुपमा पार्टी स्कूल चलाउने योजना अनुसार मिथिला राज्यबाट स्कुलिङ सुरु गरिएको बताउँदै हरेक कम्युनिष्ट पार्टी सदस्य पार्टीको नीति, सिद्धान्त, कार्यदिशा, कार्यनीतिप्रति स्पष्ट हुनु अनिवार्य भएकोले स्कुलिङको सुरुवात गरिएको स्पष्ट पारे ।
दर्शनका विषयमा हस्तबहादुर केसी, राजनीतिक अर्थशास्त्रका विषयमा परि थापा र वैज्ञानिक समाजवादका विषयमा सी पी गजुरेलले आधारभूत वैचारिक तथा राजनैतिक प्रशिक्षण दिइने स्कूलिङ चार दिनसम्म चल्ने प्रशिक्षक हस्तबहादुर केसीले बताए । मिथिला राज्यन्तर्गतका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका पाँच जिल्लाबाट पचास जना नेता कार्यकर्ता प्रशिक्षार्थीको रुपमा पार्टी स्कुलमा सहभागी भएका छन् ।