ललितपुर । माओवादी जनयुद्धसँगै जन्मिएर स्थापित बनेको सामना साँस्कृतिक परिवारका कलाकारद्वय अनिश योञ्जन र रुषा जिम्बाबीच शनिबार ललितपुरको कुपण्डोलमा जनवादी विवाह सम्पन्न भएको छ । जनयुद्धले नै स्थापित गरेको ‘जनवादी विवाह’को संस्कृतिलाई अँगाल्दै कलाकारद्वय योञ्जन र जिम्बाले जनवादी विवाह गरेका हुन् ।
नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’को प्रमुख आतिथ्यतामा सम्पन्न विवाहमा क्रान्तिकारी माओवादीका केन्द्रीय कार्यालय सदस्य रामसिंह श्रीस, सचिवालय सदस्य तथा नेवा राज्य इन्चार्ज दिनेश शर्मा‘सागर’ लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कलाकारद्वयले जनयुद्धका सहिदहरुको सम्झनामा मनाउँदै आएको सहिद सप्ताहको पहिलो दिन पारेर जनवादी विवाह गर्ने सोच बनाए अनुसार नेकपा (क्रान्तिकारी माओवादी) नेवाः राज्यले विवाहको आयोजना गरेको थियो । वैवाहिक कार्यक्रममा दुलाहा र दुलहीका आफन्तहरुको पनि उपस्थिति रहेको थियो ।