पेट्रोल वितरण दोब्बर गरे पनि लाइन किन

पेट्रोल वितरण दोब्बर गरे पनि लाइन किन


फाल्गुन ११, नेपाल आयल निगमले तीन दिनयता करिब २४ लाख लिटर पेट्रोल वितरण गरेको छ । यो सामान्य दिनको तुलनामा दोब्बर बढी हो । निगमका थानकोट डिपो प्रमुख नेत्र काफ्लेका अनुसार सामान्य अवस्थामा औसतमा दैनिक ४ लाख लिटर पेट्रोल बिक्री हुन्छ । तर, पेट्रोलका लागि पम्पमा सर्वसाधारणको भीड बढेपछि दैनिक मागको दोब्बर वितरण गरेको निगमको दाबी छ ।

प्रमुख काफ्लेका अनुसार आइतबार ८ लाख २३ हजार लिटर, सोमबार ७ लाख २५ हजार र मंगलबार ८ लाख ४८ हजार लिटर पेट्रोल वितरण भएको छ । शनिबार सार्वजनिक बिदाको दिनमा २ लाख लिटर पेट्रोल वितरण गरेको उनले बताए ।

ट्यांकर ढुवानी व्यवसायीले निजी स्वार्थ पूरा गराउन दबाबस्वरूप शुक्रबार हडताल गरेपछि बजारमा समस्या देखिएको हो । ढुवानी व्यवसायीले दबाबस्वरूप शुक्रबार इन्धन लोड गरेनन् । त्यसको असर बजारमा देखिएको हो । एक दिन बन्द हुँदा अधिकांश पम्पमा सर्वसाधारणको लाइन कायमै छ । केही पम्पहरूमा ‘पेट्रोल छैन’ भन्ने ट्याग झुन्डाइएको छ ।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधान शुक्रबारको हडतालको असर देखिएको बताए । निगमले ढिलो इन्धन पठाउँदा पनि अप्ठेरो परेको उनले बताए । ‘एक दिन हडताल हुँदा सर्वसाधारणहरू आत्तिए । थप बन्द हुने आशंकामा पम्पमा लाइन देखिएको छ,’ उनले भने । तराईमा आन्दोलन हुने हल्लाले पनि समस्या भएको उनले बताए ।

हाल बजारमा देखिएको समस्याको मुख्य कारण त्रास रहेको निगमको दाबी छ । बन्द हडताल हुने त्रासले सर्वसाधारणले मौज्दात गर्दा सन्तुलन बिग्रिएको निगमको दाबी छ । ‘तराई आन्दोलन हल्लाले पुनस् नाकाबन्दी हुन्छ कि भन्ने सर्वसाधारणको अवधारण छ,’ थानकोट डिपो प्रमुख काफ्लेले भने, ‘जसले गर्दा सर्वसाधारणले चाहिनेभन्दा बढी मौज्दात गरेको जानकारी पाएका छौं ।’
आपूर्तिमन्त्री दीपक बोहराले इन्धन आपूर्तिमा कुनै समस्या नभएको दाबी गरे । इन्धन मौज्दात राख्ने र कृत्रिम अभाव गराउनेलाई कारबाही गरिने उनले बताए । ‘नेपालले माग गरेअनुसार भारतीय आयल निगमले इन्धन दिएको छ । सरकारले पनि सोहीअनुसार वितरण गर्दै आएको छ,’ उनले भने, ‘हाल पेट्रोलमा कृत्रिम अभाव गराउन खोजिएको जस्तो देखिन्छ । तर, इन्धनको अभाव हुन दिँदैनौं । बुधबारदेखि पम्पहरूमा अनुगमन गर्छौं ।’

निगमका अनुसार इन्धन भर्न गएका ट्यांकर सबै लोड भएर आएका छन् । मंगलबार रक्सौल नाकाबाट पेट्रोलरडिजेल ९ लाख लिटर, बरौनीबाट ५ लाख ७० हजार लिटर उपत्यका आउने क्रममा रहेको काफ्लेले बताए । व्यवसायीले भने निगमले ढिलो गरी पम्पमा इन्धन पठाउँदा पनि समस्या भएको हो । एउटा ट्यांकरले दुईरतीन पम्पमा वितरण गर्छ । पम्पमा खन्याएपछि इन्धन भर्न पुनस् थानकोट डिपो जानुपर्छ । आपूर्ति सहज गर्न इन्धन बोकेको ट्यांकर थानकोट डिपोबाट १० बजेभित्रै पठाउनुपर्ने बताए । थानकोट डिपो प्रमुख काफ्लेले भने सबै प्रक्रिया र्पुयाएर ११ बजे नै ट्यांकर पठाएको दाबी गरे ।

‘८ बजेदेखि ट्यांकरहरूको चेकजाँच सुरु हुन्छ । व्यवसायीले १०र११ बजे बैंक भौचर बुझाएपछि ट्यांकर पठाउने गरेका छौं,’ उनले भने । बाटोमा हुने सवारी जामका कारण पनि ढुवानीमा थप समस्या हुन्छ । पम्पहरूमा सर्वसाधारणको भीड बढेपछि व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पनि चासो दिएको छ ।

समितिले इन्धनको विषयमा बुधबार छलफल गर्ने जनाएको छ । निगमले इन्धन ढुवानी व्यवस्थित बनाउन सरकारले माघमा ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३’ संशोधन गरेपछि व्यवसायीहरू विरोधमा उत्रेका हुन् । विनियमावली अव्यावहारिक र त्रुटिपूर्ण भन्दै त्यसको विरुद्धमा उत्रिएका छन् ।

संशोधित विनियमावलीमा टैंकट्रकमा लोड भएको पेट्रोलियम पदार्थको परिमाण तापक्रमको फरकबाट हुने परिमाणबाहेक लोड भएको परिमाणको ० दशमलव २५ प्रतिशतभन्दा कम फरक भएमा प्रचलित खुद्रा मूल्यअनुसार र सोभन्दा बढी फरक भएमा प्रचलित खुद्रा मूल्यको दुई गुणा मूल्य ढुवानीकर्ताबाट असुल गर्ने उल्लेख छ ।

टैंकट्रक चालकलाई ढुवानी कार्यमा बन्देज लगाउन सकिने पनि जनाएको छ । तर, व्यवसायीहरूले २ प्रतिशत घट्न गए खुद्रा मूल्यअनुसार असुल गर्नुपर्ने माग गरेको छ । २ प्रतिशतसम्म छुट हुँदा एक ट्यांकरमा ४ सय लिटर अपचलन गर्न पाइन्छ । प्रतिलिटर एक सयको दरले पनि ४० हजार रुपैयाँ फाइदा हुन्छ ।

पेट्रोलियम पदार्थ ढुवानी गर्ने टैंकट्रकमा कुनै पनि स्वीकृत मापदण्डबाहेकका अन्य फिटिङहरू जडान गरेको भेटिएमा सो कार्यबाट निगमलाई भएको हानि नोक्सानीको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिने उल्लेख छ । टैंकट्रक चालकलाई निगमको कुनै पनि ढुवानी कार्यमा बन्देज लगाउने जनाएको छ ।