गोलाप्रथा जिते ट्याक्सी पाइने

गोलाप्रथा जिते ट्याक्सी पाइने


फाल्गुन ११, यातायात व्यवस्था विभागले चैत अन्तिम साता भूकम्पपीडितलाई ट्याक्सी वितरण गर्ने तयारी गरेको छ । विभागका प्रवक्ता टोकराज पाण्डेले सम्पूर्ण प्रक्रिया पूरा भइसकेको उल्लेख गर्दै अब गोलाप्रथाद्वारा छनोट गरिने जानकारी दिए ।

पाण्डेले अहिले आवेदकको नामावली रुजु गरिरहेको जानकारी दिए । उनका अनुसार १ लाख ४८ हजार भूकम्पपीडितले ट्याक्सी लिन आवेदन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितका लागि १५ सय ट्याक्सी थप्ने तयारी गरेको छ ।

मन्त्रालयको निर्णयअनुसार भूकम्पपीडितले साउन ५ देखि भदौ २ सम्म पीडितको प्रमाणपत्रसहित आवेदन दिएका थिए । २०७२ जेठ २८ मा मन्त्रालयले भूकम्पपीडितलाई ट्याक्सीको अनुमति दिने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीको दबाबले मन्त्रालय र यातायात व्यवस्था विभागले निर्णय कार्यान्वयन गर्न ढिलाइ गरेका थिए ।

दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगा गरी १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा सूचीकृत गरेको छ ।

ट्याक्सीमा भन्सार छुट तथा कुनै पनि सहुलियत भने नभएको साना यातायात कार्यालय एकान्त कुनाका पमुख वसन्त अधिकारीले बताए । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिका पालामा ३ हजार ३ सय ५० वटा नयाँ ट्याक्सी थप्ने निर्णय भएको थियो । सर्वसाधारणलाई ७ सय, यातायात व्यवसायीलाई ६ सय ५० र ट्याक्सी चालकलाई १५ सय नयाँ ट्याक्सी दिने निर्णय भएको थियो । सर्वसाधारण, यातायात व्यवसायी र ट्याक्सी चालकले गोलाप्रथाबाट ट्याक्सी प्राप्त गरिसकेका छन् ।

नयाँ ट्याक्सी थप्दा भाडा दर र ट्याक्सीको मूल्य घट्ने भन्दै यातायात व्यवसायीले भूकम्पपीडितका नाममा थप ट्याक्सी नभित्र्याउन दबाब दिँदै आएका छन् । विभागका अनुसार उपत्यकामा हाल ७ हजार ट्याक्सी छन् । तीमध्ये ५ हजार ६ सय ५० पुराना र १ हजार ८ सय ५० नयाँ छन् । ट्याक्सी थपिनेबित्तिकै उपत्यकामा ट्याक्सी भाडा घट्ने विभागका कर्मचारी बताउँछन् ।