फाल्गुन ११, भूकम्पले बिगारेका सडकमध्ये जोखिमयुक्तको सूचीमा तेस्रो नम्बरमा रहेको मन्थली–खुर्कोट खण्ड अझै मर्मत थालिएको छैन । डिभिजन कार्यालयले सडक सबलीकरण गर्ने योजना अघि सारे पनि रकम अभावमा काम अड्किएको हो ।
भूकम्पछि रामेछापको मन्थलीदेखि सिन्धुलीको खुर्कोटसम्मको सडक जीर्ण छ । माथिल्लो भागबाट ढुंगा खस्ने, केही स्थानमा चिरिएको र पहिरोको जोखिम उच्च भएकाले सडक सुधार गरी यातायात सहज बनाउने योजना बजेट अभावले अघि बढाउन नसकिएको कार्यालयले जनाएको छ ।
साँघुरो सडकमा भूकम्पपछि ठूला सवारीसाधन ओहोरदोहोर गर्न कठिनाइ हुँदै आएकाले सबलीकरणका लागि डिभिजनले ठेक्का आहानसमेत गरेको थियो । तर, यसै वर्ष काम सुरु हुने निश्चित नरहेको डिभिजन प्रमुख राकेश महर्जनले बताए । उनका अनुसार माथिल्लो निकायले योजना स्वीकृति र अख्तियारी अझै दिएको छैन ।
‘योजना स्वीकृत होला भन्ने आशामा टेन्डरसम्म गरिसकेका छौं,’ महर्जनले भने । पैसा आइहाले प्रक्रियाका कारण अल्झनु नपरोस् भनेर टेन्डर आह्वान गरिएको उनले बताए ।