‘क्रान्तिकारी’ बन्न नसकेका क्रान्तिकारी विध्यार्थीहरु !

प्रकाशित मिति : २०७३ माघ २७

- –उज्वल

स्ववियू निर्वाचन नजिकिएको छ । विध्यार्थी नेताहरुको चहलपहल बढेको छ । विभिन्न दलहरुमा विभाजित विध्यार्थी नेताहरु दलको बफादार सिपाही बनेर चुनावी मैदानमा उत्रने कोशिसमा छन् । आ–आफ्नो पल्लाभारी बनाउन साम, दाम, दण्ड, भेद, सन्धि र भंगको ६ वटा प्रचण्ड–मन्त्र(षड्यन्त्र)को प्रयोगमा लागेका छन् ।

संसदीय राजनीतिमा ‘खसीको टाउको देखाएर कुुकुरको मासु बेच्नु’लाई नै सफलता मानिन्छ । पिठोलाई जसले चामलसँग साट्न सक्छ उसैलाई योग्य र सक्षम भनिन्छ । कल, बल, छल जे गरेर हुन्छ, सत्ता हत्याऊ । विध्यार्थीहरुको सत्ता स्ववियू हो । स्ववियू कब्जा गर्न दलीय विध्यार्थी संगठनहरुबीच होड चल्नु अनौठो होइन । उनीहरुको लागि स्ववियूबाहेक अरु सबै चिज भ्रम हो ।

आजका विध्यार्थी नेताहरुको दिमागमा पनि यही सत्य बनेर स्थापित छ । र, लाखौंदेखि करोडौंसम्म चुनावमा खर्च गरेर चुनाव जित्ने मदहोशमा दौडिरहेका छन् । भोटर विध्यार्थीहरुमा उनीहरु धेरै कुरामा ‘फ्रि अफर’ बाँड्न व्यस्त छन् । चुरोट र रक्सी त सामान्य भो, उनीहरु धेरै कुराको फ्रि अफरमा लागेका छन् । पैसा यसरी खर्चेको देखिन्छ, मानिलिउँ उनीहरुको आफ्नै बैंक छन्, जति चाह्यो त्यति खर्च गर्न सक्छन् ।

अच्चम छ ! यत्रो लगानी कसले गर्छ, गरिराखेको छ ? गुदी कुरा– शैक्षिक माफियाहरुले, शैक्षिक व्यापारीहरुले । पछिल्लो दशकमा किन विध्यार्थी आन्दोलन उठ्न सकेन भनेर केलाउँदा– प्रायः सबै दलीय संगठनका नेताहरु आ–आफ्नो गच्छेअनुसार शैक्षिक माफिया र व्यापारीहरुको खल्तीमा पसेको पाइयो । शैक्षिक माफिया र व्यापारीहरुलाई ब्रम्हलुट मच्चाउन छुटै छुट ।

विडम्बना लाग्छ ! कुनै बेला शैक्षिक माफियाकरण, व्यापारिकरण र निजीकरणका विरुद्ध वैधानिक अवैधानिक संघर्षका बीचबाट ‘सडक बाघ’को गर्जन गर्ने र शैक्षिक माफिया र व्यापारीहरुलाई मात्र होइन, राज्यव्यवस्थालाई नै उल्ट्याइदिने तागतका साथ स्थापित संगठन र नेताहरु हेर्दाहेर्दै फिक्का भएर विलाए । उनीहरु पनि अन्ततः तिनै शैक्षिक माफिया र व्यापारीहरुको दलाली र चाकडीमा निजी दुनो सोझ्याउन लागे । भारतीय दूताबासबाट तलव थाप्ने नेता, कर्मचारी, पत्रकार, बुद्धिजीवि, मानवअधिकारकर्मीहरुलाई विभिन्न वर्गका कुत्ताको रुपमा उसले वर्गीकरण गर्ने गरेजस्तै शैक्षिक माफिया र व्यापारीहरुले पनि ‘पाल्तु कुत्ता’को रुपमा विध्यार्थी नेताहरुलाई लिने गरेको देखिन्छ ।

बहुराष्ट्रिय कम्पनीहरुले यहाँको पाठ्यक्रम निर्धारण गर्ने गरेको छ । उसैले निर्धारण गरेका पाठ्यक्रमहरु विध्यालयस्तरदेखि विश्वविध्यालयसम्म पढाइ भइरहेको छ । उनीहरुलाई चाहिने सस्तो श्रम उत्पादन गर्ने फ्याक्ट्रीजस्ता भएका छन् यहाँका विश्वविध्यालयहरु । कच्चा पदार्थ नेपालकै लैजाने, सस्तो श्रम पनि नेपालकै लैजाने । नेपाल र नेपालीको उन्नती र प्रगति, विकास, निर्माणको लागि चाहिने जनशक्ति अहिलेको विश्वविध्यालयले उत्पादन गर्न सकेको छैन । शिक्षा अनुत्पादक छ, अबैज्ञानिक र अव्यवहारिक छ । मान्छे उत्पादन(शैक्षिक जनशक्ति निर्माण) गर्ने शिक्षालयमा भ्रष्ट र अनैतिक व्यक्तिहरुको बोलवाला छ । शिक्षा यति महंगो बनेको छ कि सर्वसाधारण नागरिकका छोराछोरीहरुले त्यहाँ पहुँच राख्नै सक्दैनन् । यसको अर्थ शिक्षामा आम गरिखाने नागरिकका छोराछोरीका लागि ढोका बन्द गरिएको छ । नेपालमा विद्यमान शैक्षिक अभ्यासले समाजमा दुईवटा वर्ग जन्माइरहेको छ र बीचमा अन्तरविरोध पनि चर्काइरहेको छ । तर आवाज उठाउने कसले ? क्रान्तिकारी विध्यार्थीहरुले हो ।

अहिले ‘क्रान्तिकारी’ नामका तीनवटा विध्यार्थी संगठन अस्तित्वमा देखिन्छन् । तर कामका कुनै पनि क्रान्तिकारी बन्न सकेका छैनन् । माओवादी केन्द्र निकटको क्रान्तिकारी विध्यार्थी संगठनलाई अहिले सरकारी मात लागेको छ । सत्ता र शक्तिको मदहोशमा उ भ्वाङ परेको डम्फू बजाएर दम्भको नाच नाचिरहेको छ । अर्को ‘माओवादी’ हटाउने तयारीमा रहेको माउ पार्टीले जस्तै ‘क्रान्तिकारी’ हटाउने हो कि भन्ने आशंकामा रहेको विप्लव माओवादी निकटको क्रान्तिकारी पनि नाङ्लो ठटाएर हात्ती तर्साउन खोज्ने र निजी दुनो सोझ्याउन दौडधुपमा लागेको प्रष्टै देखिन्छ । यी दुवै संगठनलाई ‘मुद्दा’मा भन्दा पनि बढी पैसा(सत्ता)मा सरोकार बढी देखिन्छ । विपरीत जस्तो देखिने तर एउटै प्रवृत्ति यी संगठनमा हावी देखिन्छ । अर्को छ काम ठ्याक्कै क्रान्तिकारी गर्न नसके पनि क्रान्तिकारी माओवादी नाम गरेको पार्टी निकटको क्रान्तिकारी । यो संगठन तुलनात्मक रुपमा केही इमान्दार देखिए पनि अन्य दुई संगठनमा रहेका प्रवृत्तिगत रोगहरु यसमा पनि देखिन्छ । तर यो संगठनको मूल प्रवृत्ति त्यो होइन । कमजोर छ तर बलियो हुने प्रयासमा देखिन्छ । आम गरिखाने वर्गका विध्यार्थीहरुले थारै भएपनि यो संगठनप्रति आशा, भरोसा गर्न खोजेको देखिन्छ । अगामी दिनमा यो संगठनले कसरी आफ्ना नीति कार्यक्रम लिएर आम विध्यार्थी माझमा जान्छ, धेरै कुरा त त्यसमा निर्भर गर्छ । तर पनि यो संगठन अहिले श्रमजीवि वर्गका लागि ‘नहुनुभन्दा कानो मामा निको’ जस्तो भएको छ ।

नेपालमा यदि कोही ‘कम्युनिष्ट’ छ भने, उ भनेको मोहन वैद्य‘किरण’ हो, धेरैले भनेका छन् । उनैको नेतृत्वमा भएको पार्टी निकट विध्यार्थी संगठन भएर पनि होला– बुधबार मात्र सम्पन्न राष्ट्रिय भेलाबाट अध्यक्ष बनेका सेवन्तराज भण्डारी नेतृत्वको अखिल (क्रान्तिकारी)लाई धेरैले आशाको नजरले हेरेका छन् । यो संगठनले उल्लेखित शैक्षिक माफिया, व्यापारीहरुका विरुद्ध ‘लाल आतंक’ खडा गर्दै वर्तमान बुर्जुवा शिक्षा प्रणालीलाई मात्र होइन, असफलसिद्ध संसदीय व्यवस्थालाई जरैदेखि उखेलेर फाल्नेगरी नयाँ आन्दोलनको आँधिबेहरी सृष्टि गर्न सकोस्, साँच्चै ‘सडक बाघ’को नयाँ गर्जनसहित आम विध्यार्थीबीचमा स्थापित बनेर अगाडि बढ्न सकोस् । एक जना शुभचिन्तकको तर्फबाट बधाई तथा हार्दिक शुभकामना !