एक पछि अर्को गर्दै ओबामाका निर्णय उल्ट्याउँदै ट्रम्प, अमेरिका टीपीपीबाट बाहिरियो

एक पछि अर्को गर्दै ओबामाका निर्णय उल्ट्याउँदै ट्रम्प, अमेरिका टीपीपीबाट बाहिरियो

काठमाडौं । अमेरिका १२ देश सम्मिलित रहेको व्यापार सम्झौता ट्रान्स–प्यासिफिक पार्टनरशीप (टीपीपी) बाट बाहिरिएको छ ।

पूर्व राष्ट्रपति बाराक ओबामाको पहलमा १२ राष्ट्र सहभागी टीपीपी सम्झौता भएको थियो । आफूले निर्वाचनमा गरेको बाचा पूरा गर्ने क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टीपीपीबाट बाहिरिने पत्रमा हस्ताक्षर गरेका हुन् ।

आफ्नो निर्वाचन अभियानका क्रममा टीपीपीलाई सम्भावित खतरा भन्दै यसले अमेरिकी उत्पादन क्षेत्रलाई नोक्सान पुर्याएको बताएका थिए ।

उनले ठूलो मात्रामा ट्याक्स घटाउने र विनियमनलाई कम गर्ने वाचा गरेका छन् । यद्यपि जुन कम्पनीको कारखाना विदेशमा छ तिनीहरुमाथि बढी सीमा कर लगाउने समेत उनले फैसला गरेका छन् । ह्वाईट हाउसमा व्यापारीहरुलाई उनले आयातमाथि धेरै जरिवाना लगाउने चेतावनी दिएका छन् । उनले भाभ केमिकल्स, लकहिड मार्टिन, अन्डर आर्मर, व्हर्लपुन, टेसला र जोनसनसहित १२ कम्पनीका अधिकारीका सामु यस्तो चेतावनी दिएका हुन् ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले बिनियमनमा ठूलो मात्रामा कमी गर्ने र यो नियम जनतालाई बचाउनका लागि हुने उल्लेख गरे । उनले कर्पोरेट ट्याक्स ३५ प्रतिशत कम गरेर १५ देखि २० प्रतिशत सम्म बनाउने र बिनियम दरमा ७५ प्रतिशतसम्म कटौती गर्न सक्ने उल्लेख गरे ।

यद्यपि उनले विदेशमा तयार गरिएका सामानमा ट्याक्स लगाउने समेत बताए । उनले अमेरिकी मजदुरलाई बेरोजगार बनाउनका लागि मेक्सिको र क्यानडासँग भएको व्यापार सम्झौतालाई दोषी ठहर गरेका छन् ।
उनले राष्ट्रपति चुनावका् प्रचारका क्रममा अमेरिकामा नयाँ रोजगारी सिर्जना गर्ने बाचा गरेका छन् ।

२० जनवरीमा अमेरिकी राष्ट्रपति पदको शपथ लिएका उनले एक पछि अर्को गर्दै ओबामा प्रशासनका नीतिहरुलाई उल्ट्याउन थालेका हुन् । उनले यसअघि नै ओबामाको चर्चित स्वास्थ्य कार्यक्रम ‘ओबामाकेयर’ कमजोर पार्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।