एजेन्सी । म्यानमारको अल्पसंख्यक मूलबासी रोहिंग्या मुस्लिम समुदायमाथि केही वर्षदेखि भइरहेको बर्बर दमनविरुद्ध १३ जना नोबेल पुरस्कार बिजेताले आपत्ति जनाएका छन् ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई चिठी लेखेर उनीहरुले बर्मामा मुस्लिम समुदायमाथि भइरहेको दमनलाई मानवीय त्रासदी भएको उल्लेख गर्दै त्यहाँ नश्लीय सफाया र मानवताविरुद्धको अपराध भइरहेको स्मरण गराएका छन् ।
केही वर्षदेखि म्यानमारमा रोहिंग्या समूदायमाथि चरम दमन भइरहेको छ भने उनीहरु आफ्नो बसोबास क्षेत्रबाट विस्थापित भई कष्टकर जीवन बिताउन बाध्य छन् ।
पछिल्ला दुई महिनामा मात्रै रोहिंग्या मुस्लिम अल्पसंख्यकमाथि म्यानमार सैनिकले गरेको कारबाहीमा सयौं मारिनुका साथै ३० हजारभन्दा बढी घरबारबिहीन भएको जनाइएको छ ।
सैनिकले सो समुदायका घर जलाउनुका साथै महिलालाई बलात्कार, बालबालिकाको हत्या गर्नुका साथै सरकारले मानवीय सहायता समेत उपलब्ध नगराएको चिठीमा उल्लेख गरिएको छ ।
म्यानमारमा नोबेल पुरस्कार विजेता नेतृ आङ साङ सुकीको नेतृत्वमा सरकार रहेका बेला नोबेल पुरस्कार विजेताले नै सुरक्षा परिषदलाई घच्घच्याउनु पर्ने अवस्था सिर्जना भएको हो ।
राष्ट्र संघलाई लेखिएको उक्त चिठीमा आर्चबिशप डेसमन्ड टूटू, मोहम्मद यूनुस, मलाला युसुफजई, जूसे रामोस होर्तालगायत १३ जनाले हस्ताक्षर गर्दै सुकी नेतृत्वको सरकारको आलोचना गरेका छन् ।