स्वान्सी र स्टोक विजयी, आर्सनल बर्नमाउथसँग रोकियो

स्वान्सी र स्टोक विजयी, आर्सनल बर्नमाउथसँग रोकियो

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राती भएको खेलमा आर्सनलले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । बर्नमाउथसँग ३–३ गोलको बराबरीमा रोकिएपछि आर्सनलले सो मौका गुमाएको हो । 

बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा बर्नमाउथ ३–० ले अघि बढेको थियो । खेलको ६९ औं मिनेटसम्म ३–० ले पछि परेको आर्सनलका लागि ७० औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरे । 

त्यसपछि लुकास पेरेज र ओलिभर जिरोउडले गोल गरेपछि आर्सनल एक अंक हासिल गर्न सफल भयो । 

प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएका अन्य खेलमा भने स्वान्सी र स्टोक सिटी विजयी भएका छन् । स्वान्सी सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले हराँउदा स्टोक सिटीले वाट्फोर्डलाई २–० ले पराजित गरेको छ ।

अब बुधबारराति शीर्ष स्थानको चेल्सी र टोटनह्यामबीच प्रतिस्पर्धा हुनेछ । १९ खेलबाट ४९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै रहेको भने २० खेलबाट ४४ अंक जोडेको लिभरपुल दोस्रो र ४२ अंकको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छन् ।