क्रान्तिकारी माओवादी नेवाः को बन्दप्रति ऐक्यबद्धता

क्रान्तिकारी माओवादी नेवाः को बन्दप्रति ऐक्यबद्धता

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेवा राज्य इन्चार्ज दिनेश शर्मा‘सागर’ले एक वक्तव्य जारी गर्दै सडक विस्तार पीडितहरुले पौष २० गत्तेका लागि राखेको बन्दप्रति ऐक्यबद्धता जाहेर गरेको छ ।

मंगरबार निकालेको वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टी सरकारका तर्फबाट बाटोमा परेका घरहरुको उचित क्षतिपूर्तिसहित मुआब्जा उपलब्ध गराइयोस् भन्ने जोडदार माग गर्दछ । र, जनताको तर्फबाट अधिकारका लागि गरिएको उपत्यका बन्दलगायतका सबै प्रकारका कार्यक्रमप्रति ऐक्यबद्धता जाहेर गर्दछ ।”

“नेपालको शासन सत्तामा युगौदेखि प्रतिक्रियावादी वर्गको वर्चस्व रहँदै आएको र दैनिक काम गर्ने सरकार छत्र छायाँमा निर्माण हुँदै आएका कारण विकास निर्माण होस् या जनताका दैनिक सरोकारका विषय हुन्, ती सबै प्रतिक्रियावादी वर्गको प्राथमिकतामा पर्न सकेनन् । त्यसैको परिणाम स्वरुप जनसंख्या वृद्धि राजधानीमा अत्यन्तै बढ्दै जानु र विकास निर्माण, बाटो, विद्युत, पानी, सरसफाई जस्ता विषयहरु अत्यन्तै कमजोर तथा अपुग बन्दै जान थाले । यसै परिप्रेक्ष्यमा केही वर्षदेखि सरकारले बाटो चौडा बनाउने नाममा सरोकारवाला जनताको वास्तविकतालाई गहिरो अध्ययन गरी मुआब्जा र वैकल्पिक व्यवस्था नै नगरी अन्धाधुन्ध घर भत्काउने कार्यले कैयन जनताको बस्ने बास समेत हरण भएर सुकुम्बासी बन्नुपर्ने आवस्थामा पुगेका छन् ।” वक्तव्यमा उल्लेख छ ।