काठमाडौं । संविधान संशोधन प्रस्तावविरुद्ध परेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन नपर्ने फैसला गरेपछि दलहरु छलफलमा जुट्न थालेका छन् ।
सर्वोच्चले संविधान संशोधन गर्ने अधिकार संसदकै भएको भन्दै त्यससम्बन्धी प्रक्रियालाई रोक्न नपर्ने आदेश दिएपछि मधेसी मोर्चा पनि छलफलमा जुटेको छ ।
मोर्चा आफ्नो माग सम्वोधनका लागि वातावरण बनेको निष्कर्षसहित छलफलमा जुटेको हो । संविधान संशोधन विधेयक सम्बन्धमा सर्वोच्च अदालतको आदेशपछि संयुक्त धारणा बनाउन संघीय गठबन्धन र मधेसी मोर्चाको बैठक बुधबार बस्दैछ ।
सर्वोच्चको आदेशपछि संविधान संशोधन प्रक्रिया अघि बढाउने वातावरण बनेको भन्दै विधेयक पारित गराउन अख्तियार गर्ने रणनीतिका बिषयमा छलफल गर्न गठबन्धन र मोर्चाको छुट्टाछुट्टै बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।
मध्यान्ह १२ बजे संघीय गठबन्धनको र दिउँसो ३ बजे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्न लागेको छ ।
एमालेले संविधान संशोधन बिद्येयक फिर्ता लिन सत्तारुढ दललाई आग्रह गरिरहेका बेला मधेस केन्द्रित दलका नेताहरुले त्यसलाई पारित गराउन मोर्चाका तर्फबाट खेल्ने भूमिकावारे छलफल गर्न लागेका हुन ।
सर्वोच्चको आदेशपछि संशोधन विधेयकलाई अघि बढाउँदा एमालेको अवरोध नहुने भन्दै मोर्चा नेताहरुले सत्तारुढसहित अन्य दलहरुसंग समर्थन जुटाउने प्रयास तिव्र पारेका छन् ।