काठमाडौं । नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ ।

सोमबार भएको खेलमा भारतसँग ३–१ ले पराजित भएसँगै नेपाल फाइनल पुग्नबाट बन्चित भएको हो । नेपाल फाइनल पुग्न नसकेको यो पहिलो पटक हो ।

यसअघिका तीन संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । यसपटक भने नेपाल र भारतबीच सेमिफाइनलमा नै भेट भएको हो ।

पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको हो । नेपालका लागि एकमात्र गोल सावित्रा भण्डारीले गरिन् ।

भारतका लागि खेलको ४४ औं मिनेटमा कमला देवीले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफको ५८ औं मिनेटमा इन्दुमतिले गोल गरेपछि भारत २–० ले अघि बढेको थियो ।

तर, ७५ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेलमा फर्किने संकेत गरेपनि ८३ औं मिनेटमा भारतका लागि सस्मिता मल्लिकले गोल गरेपछि भारत ३–१ ले विजयी भयो । अब भारतले उपाधीका लागि माल्दिभ्स र बंगलादेशबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर