देशको राष्ट्रिय स्वाधीनताको पक्षमा जनतालाई जागृत बनाउँदै र हामी आफू पनि जागृत भएर सबै शोषण, दमन, उत्पीडन र हस्तक्षेपका विरुद्ध संघर्ष गर्न प्रतिबद्ध भएर हामी अगाडि बढेका छौं ।
हाम्रो देश अर्ध सामन्ती, अर्ध÷नव औपनिवेशिक अवस्थामा रहँदै आयो । यसको मूल कारण अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद हो । नेपालमा भएका सबै हस्तक्षेपका लागि भारतीय विस्तारवाद प्रमुख कारक तत्व हो । सुँगौली सन्धि ताकादेखि नेपालका शासकवर्गले राष्ट्रघाती सन्धिसम्झौता गर्दै आएका छन् ।
शासकहरुको कुरा गर्दा हिजो नेपाली कांग्रेसले धोका दियो, बदमासी ग¥यो भन्दै आयौं । गण्डकी, टनकपुरमा पनि कांग्रेसै भन्यौं, महाकालीमा आएपछि एमाले थपियो । अहिले आउँदा त हाम्रो नजिकको सहगोत्री पनि थपिन पुग्यो । अरुण, अपर कर्णाली राष्ट्रघाती सन्धि सम्झौतामा प्रचण्डहरुले नै ल्याप्चे लगाउन पुगे । अब पञ्चायतलाई मात्रै गाली गर्ने स्थिति रहेन । भारतीय विस्तारवाद र नेपालभित्रका दलाल, नोकरशाह पुँजीपतिवर्ग र सामन्तवर्ग राष्ट्रिय स्वाधीनताका प्रमुख दुश्मन हुन् । यि तत्वहरुका विरुद्ध सशक्त रुपमा आन्दोलनको उठान गर्नुपर्छ ।
भारतले नेपालको हरेक क्षेत्रमा आफ्नो एकाधिकार स्थापित गराउन चाहेको छ । नेपाली सेना, विद्युत व्यापार, पानी तथा संविधान संशोधनका कुरा उसको यही स्वार्थसँग जोडिएर आएका छन् । हामीले त पिडिए र पिटिए मात्र होइन, भारतसँग गरिएका सबै असमान सन्धिसम्झौताको खारेज गरिनुपर्दछ भनेर आफ्नो कुरा दृढतापूर्वक राख्दै आएका हौं र छौं । अहिले भारतीय विस्तारवादी हस्तक्षेप अझ तीव्र रुपमा बढेर गएको छ ।
नेपालमा भारतीय विस्तारवादी हस्तक्षेप बढेर गएको विषयमा धेरै व्याख्या, विश्लेषणहरु भएका छन् । तर मुख्य कुरा बदल्ने कुरा हो । अब बदल्ने दिशामा कसरी जाने हो ? त्यसका लागि सर्वप्रथम जलस्रोतमा विदेशी लगानी (भारतीय कम्पनीका लगानीहरु)का आयोजनाहरु खारेज गरिनु पर्दछ । दोस्रो, नेपाली जनता र सरकारसहितको स्वदेशी लगानीमा त्यस्ता आयोजनाहरु बनाइनु पर्दछ । संसदवादीहरु के भन्छन् भने अब आन्दोलनको काम छैन, अब विकास निर्माण प्रमुख कुरा हो । विकास निर्माण कसरी गर्ने त ? जलस्रोतको क्षेत्रमा दोस्रो धनी देश, नेपालको आर्थिक विकासको प्रमुख आधार, लगायत प्राकृतिक स्रोत साधन विदेशीलाई सुम्पेर हुन्छ विकास निर्माण ? विकासको जरा काटेर विकासको कुरा गर्ने ? देशमा विकास गर्नका निम्ति त अहिलेका दलाल सत्ताधारीहरुलाई सत्ताबाट फाल्नुपर्छ । यिनीहरुलाई सत्ताबाट लखेटेपछि मात्रै विकास हुन सक्छ । विकासको कुरासँग प्राकृतिक स्रोतसाधन सबै जोडिएका छन् । अब अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनाहरु नेपालीहरु आफैले बनाउनुपर्छ । र, विराटनगरमा रहेको भारतीय हटाउन दबाब दिनुपर्छ । हटाउन मानेन भने तीन दल मिलेर त्यो कार्यालय हटाइदिनुपर्छ (झण्डा फाल्नुपर्छ) । यस दिशामा गम्भीर भएर सोचौं ।
पार्टीहरुले सत्तामा जानुभन्दा अगाडि राष्ट्रियताको कुरा गर्ने, सत्तामा पुगेपछि सबथोक बिर्सने गरेका छन् । यो एकदम साँचो कुरा हो । राष्ट्रियताको मुद्दा ठग्ने र भँजाएर खानेजस्तो भएको छ । हामीले त्यस्ता पार्टीहरु सबैको पर्दाफास गर्न जरुरी छ । सबको भण्डाफोर गर्न जरुरी छ । देश र जनताको मुक्तिको निम्ति निरन्तर लड्नु पर्छ । मुक्ति सम्भव छ । राष्ट्रियताको मुद्दा भँजाउनका निम्ति हो कि मुक्तिका निम्ति हो ? यो विषयलाई हामीले गम्भीरतापूर्वक बुझ्न पनि जरुरी छ र अबलम्बन गर्न पनि जरुरी छ ।
राष्ट्रिय मुक्ति आन्दोलन अहिलेको आवश्यकता बनेको छ । कति इमान्दारिताको साथ हामी अगाडि बढ्न सक्छौं ? राष्ट्रिय मुक्ति आन्दोलन आवश्यक छ । यसलाई सशक्त ढंगले अगाडि बढाउन जरुरी छ । राष्ट्रिय स्वाधीनताका निम्ति अरु देशले के गरेका छन् हेरौं न । नेपाली पूर्खाहरुले नै के के गरे ? पूर्खाको इतिहास हेरौं । भियतनाम के गरेर मुक्त भएको हो ? हेरौं, पढौं । विश्वभर चलेका राष्ट्रिय मुक्ति आन्दोलनहरुको अध्ययन गरौं र शिक्षा लिएर हामी अगाडि बढौं । राष्ट्रिय प्रतिरोधको आन्दोलन उठाउनु पर्छ । आवश्यक प¥यो भने सशस्त्र संघर्ष, त्यस्तै परे दीर्घकालीन जनयुद्ध समेत गर्न तयार हुनुपर्दछ । हामीले कति गम्भीरतापूर्वक सोचेका छौं राष्ट्रियताको प्रश्नलाई ? हो, यस हिसाबले सोचेर जाऔं । नछोडौं, नझुकौं र दृढतापूर्वक अगाडि बढौं !
(किरणले शनिबार (पौष १६) नयाँ बानेश्वरमा क्रान्तिकारी माओवादी, माओवादी र मसालले संयुक्त रुपमा आयोजना गरेको ‘जलस्रोतमाथिको हस्तक्षेप र राष्ट्रिय स्वाधीनता’ विषयक अन्तक्र्रियामा व्यक्त गरेको विचारको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको हो ।)