काठमाडौं । वरिष्ठ साहित्यकार तथा मदन पुरस्कार गुठीका संस्थापक अध्यक्ष कमलमणि दिक्षितको निधन भएको छ ।
केही समयदेखि श्वास प्रस्वासको समस्याबाट ग्रसित भएका दिक्षितको ८७ बर्षको उमेरमा बिहीबार (आज) बिहान निधन भएको हो ।
मदन पुरस्कार पुस्तकालयले विज्ञप्ति जारी गर्दै दिक्षितको बिहीबार बिहान २ः ४५ बजे ललितपुरमा निधन भएको जनाएको छ । १९८६ भदौ कुशे औंशीमा काठमाडौंको गैरीधारामा जन्मिएका उनी ललितपुरको पाटनढोकास्थित निवासमा बस्दै आएका थिए ।
दिक्षितका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन् । उनका ‘यस्तो पनि’, ‘कालो अक्षर’, ‘कागतीको सिरप’, ‘चार कन्था’, ‘शाखा सन्तान’ लगायत कृति चर्चित छन् ।
मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका संस्थापक तथा अध्यक्ष रहेका दिक्षित विभिन्न सामाजिक, साहित्यिक, शैक्षिक र व्यावसायिक संघसंस्थामा सक्रिय थिए ।
उनका दुई छोरा कुन्द दिक्षित र कनकमणि दिक्षित, तथा एक छोरी रुपा जोशी छन् । उनकी पत्नी अञ्जु पौडेलको ठीक १ वर्ष अघि पुस १३ गते निधन भएको थियो ।