एजेन्सी । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले अवैध इजरायली बस्ती खाली गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।
अमेरिकाले यस प्रस्तावमा भिटो प्रयोग नगरी मतदानमा भाग नलिएपछि सो प्रस्ताव पारित भएको हो । प्रस्तावको पक्षमा १४ भोट परेको थियो ।
इजिप्टले यो प्रस्तावको खाका तयार पारेपनि इजरायलले अमेरिकाका नवनियुक्त राष्ट्रपति ट्रम्पमार्फत दबाब दिएपछि प्रस्ताव फिर्ता लिएको थियो ।
तर, मलेसिया, न्युजिल्याण्ड, सेनेगल र भेनेजुएलाले दोस्रो पटक प्रस्तावलाई अघि बढाएका थिए । यसअघि अमेरिकाले परम्परागत रुपमा नै इजरायलको समर्थन गर्दै आएको भएपनि यसपटक त्यसो नगरेपछि प्रस्ताव पारित भएको हो ।
अवैध रुपमा इजरायलले बसालेको यहुदी बस्ती इजरायल र प्यालेस्टाइनबीचको विवादको कारण बन्दै आएको छ । जसले दुवै देशबीचको शान्तिका लागि बाधा खडा गरेको छ ।
इजरायलले सन् १९६७ मा पश्चिमी किनारा र पूर्वी जेरुशेलमलाई कब्जा गरेर करिब १४० बस्तीमा ५ लाख यहुदी राखेको थियो । अन्तर्राष्ट्रिय कानुनले समेत यस वस्तीलाई अवैध मान्दै आएको छ ।
संयुक्त राष्ट्र संघमा अमेरिकी राजदूत समन्था पावरले यो बस्ती गम्भीर समस्याका रुपमा रहेको र यसका कारण दुई राष्ट्रबीचको समस्या समाधान समेत खतरामा परेको बताएकी छन् ।
पावरले वस्तीको विस्तार गर्ने कुराको समर्थन गर्नका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आलोचना समेत गरिन ।
उनले भनिन्, ‘यस्तो हुँदैन कि तपाई बस्ती विस्तार गर्र्दै जानुहुन्छ र संघर्ष अन्त्यका लागि सिद्धान्तको कुरा पनि गर्नुहुन्छ ।’ प्रस्ताव रद्द गराउनका लागि अमेरिकाले भिटो पावर प्रयोग नगरेकोमा इजरायल भने अमेरिकासँग रुष्ट बनेको छ ।