चेल्सीले बनायो लगातार १० औं जितको कीर्तिमान, ६ अंकको अग्रता

चेल्सीले बनायो लगातार १० औं जितको कीर्तिमान, ६ अंकको अग्रता

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार १० औं जितको कीर्तिमान बनाउँदा शीर्ष स्थानमा ६ अंकको अग्रता पनि बनाएको छ । 

बुधबार राति भएको खेलमा लिगको पुछारमा रहेका सण्डरल्याण्डलाई १–० ले हराउँदै चेल्सीले लगातार १० जितको क्लब कीर्तिमान बनाएको हो ।

चेल्सीले यसअघि सन् २००७ मा जोजे मौरिन्होको प्रशिक्षणमा लगातार ९ खेलमा जित निकालेको थियो । 

बुधबार सण्डरल्याण्डविरुद्धको खेलमा चेल्सीलाई विजयी गराउन एकमात्र निर्णायक गोल सेस फाब्रिगासले गरे ।

प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति नै भएका अन्य खेलमा लिभरपुल, म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

लिभरपुलले मिडिल्सब्रोलाई ३–० ले हराउँदा म्यानचेस्टर युनाईटेडले क्रिष्टल प्यालेसलाई २–१ ले हरायो ।

यसैगरी म्यानचेस्टर सिटीले वाट्फोर्डलाई २–० ले पराजित गर्दा टोटनह्यामले हल सिटीलाई ३–० ले पराजित गर्यो । 

यसैगरी वेष्ट ब्रोमले स्वान्सी सिटीलाई ३–१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले बर्नलीलाई १–० ले पराजित गर्यो । स्टोक सिटी र साउथह्याम्पटनले भने गोलरहित बराबरी खेलेका छन् ।

बुधबार रातीका खेलपछि प्रिमियर लिगमा १६ खेलबाट ४० अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ भने दोस्रो स्थानको लिभरपुलको ३४ अंक छ रहेको छ ।