काठमाडौं । एशियाकै धनी नेतामध्येमा बेला बखत चर्चामा आउने गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल वैधानिक रुपमा सम्पत्तिविहीन देखिएका छन् । सरकारले वेबसाइटमार्फत् सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको नाममा कुनै सम्पत्ति छैन ।
प्रधानमन्त्री दाहालकी श्रीमती सीताको नाममा चितवनको भरतपुरमा १ कठ्ठा जमिन र तीन तोला सुन रहेको विवरणमा उल्लेख छ । यस्तै, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भक्तपुरको कटुञ्जेमा तीन ठाउँमा गरी एक रोपनी १३ आना जग्गा देखाएका छन् ।
यस्तै ६० तोला सुन, १ सय ५० तोला चाँदी र १० लाख ९६ हजार रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै निधिकी श्रीमती अनामिका उपासकको नाममा रहेको २८ लाख ३७ हजार र अनकल निधीको नाममा २९ हजार रुपैयाँ रहेको उ्रल्लेख गरिएको छ । विभिन्न कम्पनीका २ हजार १ सय ६० कित्ता शेयर र अचल सम्पत्तिका रुपमा धनुषाको नगराईनमा रहेको जग्गा पनि निधिले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
यस्तै, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राोल्पाको लिवाङमा करिब ८ रोपनी पाखो जग्गा र एभरेष्ट बैंकमा ८० हजार रुपैयाँ सम्पत्ति विवरण बुझाएका छन् ।
स्वीस बैंकमा अरबौं जम्मा गरेको, लाजिम्पाटको घर आफन्तको नाममा लिएको, नयाँ बानेश्वरको मुक्ति टावर, व्यापारी अजय सुमार्गी र भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङमार्फत् अरबौंको लगानी गरेको भनेर प्रधानमन्त्री दाहाल बेला बखतमा विवादित बन्दै आएका छन् ।
वैधानिक रुपमा उनको नाममा नभए पनि दाहाल र महरासँग अरबौंको सम्पत्ति रहेको चर्चा माओवादी केन्द्रकै नेताहरुले गर्ने गरेका छन् । जनमुक्ति सेनाको अरबौं पैसा हिनामिना गरेको चर्चा अझै सेलाएको छैन ।