नेपाली राजनीतिले अहिले तर्क वितर्क गर्ने, वाकपटुता प्रदर्शन गर्ने, वादविवादको रिहर्सल गर्ने बाहेक अरु केही गर्न सकेको छैन । जसले गर्दा मुलुकले निकास पाउन त परै जाओस, अन्ततः देश राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा गम्भीर संकटमा गुज्रन पुगेको छ । साँच्चै भन्नुपर्दा चक्रव्यूहको भुमरीमा मुलुक फस्न पुगेको छ । सिक्किमीकरणको दिशामा अघि बढिरहेको छ । विश्व मानचित्रमा कहिल्यै उपनिवेश नबनेको नेपाल आज नवऔपनिवेशिक चङ्गुलमा भासिन पुगेको छ । अधिकार प्राप्तिका निम्ति नेपाली जनताले विभिन्न कालखण्डमा सञ्चालन गरेका र सहभागिता जनाएका हरेक संघर्ष र आन्दोलनहरु सम्झौतामा गएर टुङ्गिए, जसले इतिहासमा शाषकहरु जहिल्यै जित्ने र नेपाली जनता भने सँधै हार्ने मात्र भए ।

नेपालमा आमूल परिवर्तनको निम्ति महान उद्देश्यका साथ २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापनापश्चात निरन्तर रुपमा आफ्नो अधिकार प्राप्तिको लागि आम शोषित, उत्पीडित, उपेक्षित जनताले आन्दोलन र संघर्षका गतिविधिहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै सक्रिय सहभागिता जनाउँदै अघि बढे । यसै सन्दर्भमा २००७, २०२८, २०३६, २०४६, र २०५२ सालमा सञ्चालित महान जनयुद्ध र जसको बलमा भएको २०६२÷०६३ सालको जनआन्दोलनमा क्रान्तिकारी पंक्तिकै अग्रणी भुमिका रहनुको साथै नेतृत्वदायी पहलकदमी रहेको कुरा सुस्पष्ट नै छ । यिनै संघर्षका राप, ताप र धक्काले २०६४ सालमा नेपाली जनताले आफ्नो संविधान आफ्नो प्रतिनिधिमार्फत् बनाउने लामो समयदेखिको चाहनाअनुरुप संविधानसभा चुनाव सम्भव बन्यो । जसको निम्ति विविध कालखण्डमा सञ्चालित आन्दोलन÷संघर्षहरुको साथै महान जनयुद्धको प्रक्रिया हुँदै २०६२÷०६३ सालको जनआन्दोलनसम्म आउँदा हजारौं हजार सपुत वीर विरङ्गनाहरुको बलिदानी, हजारौं हजार घाइते, बेपत्ता, अङ्गभङ्ग र अपाङ्ग भए । तर बिडम्बना उक्त संविधानसभामार्फत् जनताको पक्षमा संविधान निर्माण गरिनु त परै जाओस्, साम्राज्यवाद र विस्तारवादको योजनामा जनयुद्धकै नेतृत्व गरेका बाबुराम भट्टराई प्रधानमन्त्री भएको अवस्थामा उक्त संविधानसभा विघटन गराइयो । जनताका सारा सपनाहरु चकनाचुर पारियो भने नेपालको अस्मितामाथि नै प्रहार गरियो । पुन ः साम्राज्यवाद र विस्तारवादकै योजनामा बहालवाला प्रधान न्यायधिश खिलराज रेग्मीलाई मन्त्रीपरिषद्को अध्यक्ष बनाई दोस्रो संविधानसभा रुपी नाटक मञ्चन गरियो । त्यतिबेलै तत्कालीन ने.क.पा.–माओवादी र उसको नेतृत्वमा गठित ३३ दलीय मोर्चाले कथित दोस्रो संविधानसभाले एक थान जनघाती र राष्ट्रघाती संविधान त बनाउला तर मुलुकलाई निकास दिने होइन, पूर्णरुपमा द्वन्द्वमा फसाउने भविष्यवाणी गर्दै आएको थियो ।

कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत ठूला साना सबै पार्टीका आ–आफ्नो व्यक्तिगत र दलगत स्वार्थले राष्ट्रियता, जनतन्त्र र जनजीविका महासंकटमा परेको छ । यो एकले अर्कोलाई हिलो छ्यापेर आफू चोखिन खोजेको बाहेक अरु केही होइन । सारतः राष्ट्रघात र जनघात गर्नुमा पनि प्रतिस्पर्धाभन्दा बाहेक अरु केही नभएको केवल विदेशीको दलाल र गोटी बन्न पुगेको कुरा विगतदेखि वर्तमानसम्मको व्यवहारले पुष्टि गरिसकेको छ ।

अहिले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाको निम्ति क्रान्तिकारी पंक्तिले दृढताका साथ धावा बोल्नुपर्ने बेला आएको छ । अब क्रान्तिकारीहरुले प्रतिक्रान्तिकारी, यथास्थितिवादी, सामन्तवादी, साम्राज्यवादी र विस्तारवादी कवचलाई घन हानेर धुजाधुजा पार्नुपर्दछ, जसको लागि क्रान्तिकारीहरु तैयार रहनु पर्दछ । ‘फलाम तातेको बेलामा हान्नु पर्दछ ।’ भन्ने भनाइलाई क्रान्तिकारीहरुले गम्भीर भएर आत्मसाथ गर्नुपर्ने बेला आएको छ । चक्रव्यूहको भूमरीमा जकडिएको मुलुकलाई केवल क्रान्तिकारीहरुले मात्र निकास दिनसक्ने हुँदा आम देशभक्त र क्रान्तिकारी शक्तिलाई एकताबद्ध बनाई संघर्षमा हामिनु पर्दछ । वर्गीय समाजमा हरेक कुरा वर्गीय पक्षधरतामा हुन्छन् भन्ने कुरालाई क्रान्तिकारीहरुले बोध गर्दै प्रतिक्रान्तिलाई क्रान्तिमा बदल्ने आँट र साहस गर्नै पर्दछ । जसको निम्ति दृढइच्छा शक्ति र तत्परताका साथ क्रान्तिकारीहरु अघि बढ्नुपर्दछ । जसको निम्ति राष्ट्रियताका पक्षपाती, सच्चा गणतन्त्रवादी, संघीयताका पक्षधरहरुलगायत आम शोषित–उत्पीडित, महिला, मधेसी, मुस्लिम आदिवासी जनसमुदायलाई मोहन बैद्य ‘किरण’को नेतृत्वको ने.क.पा.(क्रान्तिकारी माओवादी)को छातामुनी गोलबन्द र मोर्चाबन्दी गरी संघर्षलाई घनिभूत र सशक्त ढंगले अगाडि बढाउनु अहिले अपरिहार्य बनेको छ । नेपाली जनताको आमूल परिवर्तनको चाहनालाई क्रान्तिकारीहरुले क्रान्तिमार्फत् यथार्थतामा बदल्ने परिस्थिति निर्माण गर्नु प्रमुख दायित्व बन्न पुगेको छ । जस्ता सुकै आँधी र तुफानीलाई चिर्ने आँट र साहस गर्नुको साथै चक्रव्यूहको भुमरीमा जकडिएको परिस्थितिलाई क्रान्तिकारीहरुले निकास दिनै पर्दछ । अन्तत ः दुनियाँ बदल्ने आँट गर्नैपर्दछ । जसको निम्ति क्रान्ति अनिवार्य नै हुन्छ । नेपालमा क्रान्ति अपरिहार्य छ र सम्भव छ । यो यथार्थबोध गर्नसक्नु नै क्रान्तिकारीहरुको पहिलो दायित्व हो ।

प्रतिक्रिया

सम्बन्धित खवर