काठमाडौं । मधेसी मोर्चाले यथास्थितिमा निर्वाचन हुनै नदिने चेतावनी प्रधानमन्त्रीलाई दिएको छ । संविधान संशोधन विधेयकलाई समर्थन गर्दै चुनावमा जान सरकारले राखेको प्रस्तावलाई मोर्चाले ठाडै अस्वीकार गरेको हो ।
मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपनि मधेसी मोर्चाले नै असन्तुष्टि जनाएपछि प्रधानमन्त्रीले बिहीबार मधेसकेन्द्रित दलका नेताहरुलाई बोलाइर छलफल गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयकलाई समर्थन गर्न आग्रह गरेका हुन् । सरकारले संविधान संशोधनसँगै चुनावलाई एकसाथ अघि बढाउन चाहेको भन्दै प्रधानमन्त्री दाहालले स्थानीय चुनावमा जान मधेसी मोर्चालाई प्रस्ताव गरेका थिए ।
छलफलका क्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले पनि यथास्थितिमा संशोधन स्वीकार गरेर चुनावमा जान नसक्ने बताएका छन् ।