एजेन्सी । अमेरिकी राष्ट्रपतिको भर्खरै सम्पन्न निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भए ।
धेरैका अनुमानलाई गलत सावित गर्दै उनी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको कार्यकाल र कार्ययोजनाका विषयमा विभिन्न अड्कलबाजीहरु भइरहेका छन् ।
यसैमध्ये एक प्राध्यापकले भने डोनाल्ड ट्रम्प नै अमेरिकाको राष्ट्रपति बन्ने बताएका थिए । उनको पहिलो भविष्यवाणी मिलेपछि अब उनले गरेको दोस्रो भविष्यवाणी बाहिर आएको छ ।
करिब ३० वर्षदेखि अमेरिकी राष्ट्रपति निर्वाचनको पूर्वानुमान गर्दै आएका प्राध्यापक एनल लिचम्यानले राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति माइक पेन्सले सम्हाल्ने बताएका छन् ।
एक अन्तर्वार्ताका क्रममा उनले ट्रम्पले राष्ट्रपति पदमा जित हासिल गरेपनि उनलाई रिपब्लिकनहरुले नै महाअभियोग लगाएर हटाउने दाबी गरेका छन् ।
त्यसो त उनले गर्दैै आएका भविष्यवाणीको ३० वर्षको इतिहासमा २००० मा मात्रै असफल भएका थिए । त्यसबेला उनले अल गोर राष्ट्रपति बन्ने दाबी गरेपनि जर्ज डब्लु बुस इलेक्टोरल भोटका आधारमा राष्ट्रपति बनेका थिए ।
निर्वाचनमा बढी भोट भने अल गोरले नै ल्याएका थिए । अहिले पनि उनले रिपब्ल्किनले मुडी स्वभावका ट्रम्पलाई भन्दा पेन्सलाई नै मन पराउने भएका कारण उनलाई नै राष्ट्रपतिको कार्यभार आउने बताएका छन् ।
‘ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपनि रिपब्लिकनका नेताहरुले उनी राष्ट्रपति भएको देख्न चाहने छैनन् किनकि उनीहरुले ट्रम्पलाई लगाम लगाउन सक्दैनन् । ट्रम्प अस्वाभाविक छन् । राष्ट्रिय सुरक्षालाई खतरा पार्ने विवादास्पद निर्णय गरेर वा अन्य कुनै कारणले ट्रम्प स्वयंले महाअभियोग निम्त्याउनेछन्,’ लिचम्यानले भने ।
पछिल्लो भविष्यवाणी भने कुनै प्रणालीमा आधारित नभई अन्तरमनको विश्लेषण भएको उनको भनाई छ ।