काठमाडौं । इङलिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीले युएफा च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
पहिलो पटक च्याम्पियन्स लिग फुटबल खेलिरहेको लेष्टर सिटीले समुह जी अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलको एफसी पोर्टोलाई १–० ले हराएको हो ।
सोही समुहको अर्को खेलमा डेनमार्कको एफ.सी कोपनहेगनले बेल्जियमको क्लब ब्रुजलाई ४–० ले पाखा लगायो ।
च्याम्पियन्स लिगअन्तर्गत समुह ई को खेलमा टोटनह्याम हट्सपरले रुसको सिएसकेए मस्कोलाई उसैको मैदानमा १–० ले हरायो भने फ्रान्सको मोनाको र जर्मनीको बायर लिभरकुजनले १–१ गोलको बराबरी खेलेका छन् ।
यसैगरी समुह एफ को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले स्पेनको रियल मड्रिडसँग २–२ गोलको बराबरी खेलेको छ ।
खेलमा रियाल मड्रिडका क्रिश्चियानो रोनाल्डो र राफेल भारानेले १÷१ गोल गरे भने डर्टमण्डका पिएरे औबामाएङ्ग र आन्द्रे श्रुलले एक–एक गोल गरे ।
यस्तै अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बनले पोल्याण्डको लेजिया वार्सलाई २–० ले हरायो । समुह एच को खेलमा ईटालीको युभेन्टसले क्रोएसियाको डाईनामो जागे्रेबलाई ४–० ले हराउँदा स्पेनको सेभियाले फ्रान्सको लियोंलाई १–० ले पराजित गरेको छ ।