संसदमा प्रधानमन्त्रीमाथि ओलीको व्यंग्यः भारतसँग सम्बन्ध सुध्रियो भनेर रमाइलो गर्ने !

संसदमा प्रधानमन्त्रीमाथि ओलीको व्यंग्यः भारतसँग सम्बन्ध सुध्रियो भनेर रमाइलो गर्ने !

kp oli-resignकाठमाडौं । व्यवस्थापिका संसदको प्रमुख विपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीको भारतसँगको सम्बन्ध सुध्रियो भन्ने भनाईप्रति व्यंग्य गरेका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँगको सम्बन्ध सप्रियो भनेर दिएको अभिव्यक्ति प्रति कहाँ र के सप्रियो भन्दै प्रश्न गरे ।

संसद बैठकमा विशेष समय लिएर बोल्दै ओलीले प्रधानमन्त्री भएलगतै दाहालले नेपाल–भारत सम्वन्ध सुध्रियो भनेर रमाइलो भन्दै व्यंग्य गरेका थिए ।

भारत भ्रमणबारे प्रधानमन्त्रीले संसदलाई जानकारी नदिएको भन्दै उनले संसदमा नभनेपनि बाहिर सम्बन्ध सप्रियो भनेको उल्लेख गर्दै आफूले त्यस्तो नदेखेको बताए ।

ओलीले भने, ‘नाकाबन्दी थियो र खुल्यो कि ? कुनै सन्धि सम्झौता हुन सकेको थिएन, भयो कि ? कुनै परियोजना अड्किएको थियो, अघि बढ्यो कि ? बताउनुभए हुन्थ्यो ।’

उनले दाहालको भारत भ्रमणका समयमा कतिपय आन्तरिक विषयलाई समेत साझा बनाइएको भन्दै यसलाई सम्बन्ध सुधारको रुपमा लिन नसकिने उल्लेख गरे ।

उनले अझ भारतीय चासो र भूमिकालाई आमन्त्रण गरेकालाई सम्बन्ध सप्रिएको भनेको हो भने झनै आपत्तिजनक रहेको बताए ।

संविधानले परिकल्पना गरेका विभिन्न आयोगहरु गठन एवं आवश्यक ऐन कानुन निर्माण तथा संशोधन गरेर अबको १३ महिनाभित्र तीनवटा चुनाव गर्नुपर्ने भए पनि सरकार मौन रहेको बताए ।