काठमाडौं । हिन्दूहरुको सबैभन्दा ठूलो चाड दशैंका समयमा लोडसेडिङ घटाउने तयारी गरेको छ ।
दशैंको समयमा दैनिक औषत २ देखि ३ घन्टामात्रै लोडसेडिङ गर्ने तयारी भएको हो । दशैंको मुख्य दिनहरुमा औद्योगिक प्रतिष्ठानहरु बन्द हुने भएकाले बिजुलीको बचत हुने हुँदा लोडसेडिङ कम गरिने भएको हो ।
त्यसैकारण दशैंमा फूलपातिका दिनदेखि दशैं नसकिँदासम्म दिनको २ देखि ३ घण्टासम्म मात्रै लोडसेडिङ हुने प्राधिकरणका विद्युत भारप्रेशण विभाग प्रमुख बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनले उत्पादन बढेकाले भारतबाट आयत भएको ५० मेगावाट बिजुली पनि अहिले नल्याइने बताए ।
माथिल्लो मस्र्याङदीबाट उत्पादन भएको ५० मेगावाट विजुली दशैंअघि नै बाल्न पाइने छ । चाइनिज कम्पनी सिनो हाइड्रो र मनकामना केवलकार समूहको प्रवद्र्धन रहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको भुलभुले गाविसमा पावर हाउस राखेर मस्र्याङ्दी नदीबाट बिजुली निकालेको हो ।
सो आयोजनाबाट उत्पादित विजुलीको उद्घाटन आगामी सोमबार उर्जामन्त्री जनार्दन शर्माले गर्दैछन् ।
नेपालीको मुख्य चाड दशैंमा लोडसेडिङ कम गर्नुपर्ने बाध्यताका बीच खपत पनि घट्दा प्राधिकरणलाई सहज हुने देखिएको छ ।
अहिले हप्ताको साढे ४६ घण्टा लोडसेडिङ भइरहेको छ । एक दिन ६ घण्टा, एक दिन ७ घण्टा, तीन दिन साढे ६ घण्टा र दुई दिन आठ घण्टा लोडसेडिङ हुने गरेको छ ।