एजेन्सी । के तपाईलाई विश्वकै कान्छो देशबारे थाहा छ ? १३ अप्रिल २०१५ मा जन्मिएको यो देशको कुल क्षेत्रफल ७ वर्गकिलोमिटरमात्रै रहेको छ ।
लिबरल्याण्ड नाम दिइएको यो देशलाई अन्तराष्ट्रिय समर्थन प्राप्त नभएपनि यसको चर्चा भने संसारभर नै भएको छ । यो देश सर्बिया र क्रोएसियाबीचमा डेन्यूब नदीको पश्चिमी तटमा रहेको छ । यसलाई नमुना देशको रुपमा विकास गर्ने लक्ष्य छ ।
युगोस्लाभ युद्धपछि केही भूभाग विवादित रुपमा रहेको थियो र त्यो क्षेत्रलाई पछिल्लो समयमा कुनैपनि देशले दाबी गरेका थिएनन् । यस भूभागलाई संसारका कुनैपनि देशले आफ्नो सीमाभित्र नसमेटेपनि अहिले आएर भने ती देशहरुले सीमा बन्द गरेका छन् ।
चेक नागरिक विट जेडलिकाले उक्त भूभागलाई १३ अप्रिल २०१५ मा नयाँ देश घोषणा गरेका हुन । उक्त देशको मूल मन्त्र नै ‘बाँचौ र बाँच्न दिऔं’ To live and let live रहेको छ ।
लिबरल्याण्ड मोनाको र भ्याटिकन सिटीभन्दा क्षेत्रफलका हिसाबले ठूलो रहेको छ । भ्याटिकन सिटीमा जस्तै कुनैपनि सेना नरहने घोषणा गरिएको उक्त देशमा चेक र अंग्रेजी भाषालाई मान्यता प्रदान गरिएको छ ।
को हुन् विट जेडलिक ?
विट जेडलिका चेक गणतन्त्रको मेम्बर अफ कञ्जरभेटिव पार्टी फर फ्रि सिटिजनका सदस्य हुन् । चेक गणराज्यमा उनी ट्याक्स फ्रि कानुनको पक्षमा वकालत गर्दथे ।
त्यसबेला आफैले त्यस्तो राज्य बनाउन भन्दै उनको मजाक उडाउने धेरै थिए । उनलाई यस क्षेत्रबारे जानकारी भएपछि नयाँ देशको रुपमा घोषणा गरिदिएका हुन् ।
मुद्रा र कानुन
उक्त देशले अहिले धेरै मुद्राहरुलाई चलाउनका लागि मान्यता दिएको छ । एक अधिकारीले ‘क्रिप्टोकरेन्सी’ प्रणालीलका लागि योजना बनाइरहेका छन् । लिबरल्याण्डले निश्चित कानुनको मस्यौदा संस्करण प्रकाशित गरेको छ र एक सूची संविधानको रुपमा सामेल गरेको छ ।
यसमा कार्यपालिका, विधायिका र न्यायपालिकाको व्यवस्था छ । उक्त देशमा हत्या, चोरीलाई आम अपराधको रुपमा राख्नुका साथै प्रदुषण फैलाउने र सार्वजनिक उपद्रवमा सहभागी हुनेलाई अपराधिक सूचीमा राखिनेछ ।
नागरिक बन्नलाई निम्तो
उक्त देशमा सुरुमा बढीमा ५ हजार जनसंख्या रहने अनुमान गरेर विट जेडलिकाले लिबरल्याण्डको नागरिक बन्न आवेदन खुलाएका थिए । तर अनलाईन आवेदन खुलेपछि त्यहाँको नागरिक बन्नका लागि दशौं हजारले आवेदन दिएका थिए । लिबरल्याण्डको नागरिक बन्न कम्युनिष्ट, नाजी र चरमपन्थीले पाउने छैनन् ।
उनीहरुलाई पछि सोही आधारमा नागरिकता दिइनेछ । नर्वेले उक्त देशलाई मान्यता दिएको छ । अन्य देशहरुले भने अहिलेसम्म मान्यता दिएका छैनन् । जेडलिका उक्त देशका वर्तमान राष्ट्रपति हुन् । उनले अनलाईन चुनावमार्फत सर्वस्वीकार्य सरकार बनाउने घोषणा गरेपनि आफैले बनाएको देशमा जाने क्रममा २ पटक क्रोएसियामा गिरफ्तार भइसकेका छन् ।