काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेपालमा १० वर्षसम्म चलेको जनयुद्ध रिहर्सलमात्रै भएको बताएका छन् ।
बिहीबार राजधानीको कुपण्डोलस्थित नेवाः राज्य कार्यलयमा १७ अाैं वासु स्मृति दिवसको अवसरमा आयोजित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहिदका सपना पूरा गर्नका लागि वास्तविक रुपमा क्रान्ति गर्न बाँकी नै रहेको बताए ।
अध्यक्ष वैद्यले भने, ‘वास्तविक क्रान्ति त अझै बाँकी नै छ, १० वर्षे जनयुद्ध त रिहर्सलमात्रै हो, अब विगतको भन्दा भिन्न तरिकाले निर्णायक क्रान्ति गर्नु जरुरी छ, क्रान्तिबाट कोही भाग्दैमा क्रान्तिको सम्भावना नहुने होइन ।’
जनयुद्धमा सुरेस वाग्लेसहित दशौं हजार सहिदले गरेको बलिदानलाई खेर जान नदिने प्रतिबद्धता जनाउँदै नयाँ प्रतिबद्धतासहित क्रान्तिलाई अघि बढाउनु पर्ने आवश्यकतामा उनले जोड दिए ।
अध्यक्ष वैद्यले सहिद बलिदानको जगमा टेकेर प्रचण्ड बाबुराम सहितका नेताहरु सत्तामा पुगेपनि उनीहरुले सहिद परिवारका लागि खासै केही गर्न नसकेको उल्लेख गर्दै उनले सहिदका सपना पुरा गर्नेतर्फ पनि अघि बढ्न नसकेको बताए ।
तत्कालीन पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘वासु’ १० वर्षे जनयुद्धमा बलिदान गर्ने सबैभन्दा उच्च तहका नेता हुन् ।
यसैबीच, गोरखामा क्रान्तिकारी माओवादी र विप्लव माओवादीले संयुक्त रुपमा आयोजना गरेको स्मृति सभामा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा तमुवान इन्चार्ज श्रीनाथ अधिकारी‘श्याम’ले सम्बोधन गरेका छन् ।
सहिदद्वय वासु र वैरागीबाट क्रान्तिकारीहरुले सिक्नुपर्ने धेरै कुराहरु रहेको बताउँदै क्रान्तिकारी माओवादी सहिदहरुले देखाएको मार्गमा हिडिरहेको र हिडिरहने प्रतिबद्धता जनाए । कार्यक्रममा कार्यकर्ता र स्थानीय जनताको उपस्थिति रहेको थियो ।