माओवादी आन्दोलन निकै कमजोर बनेको यो अवस्थामा संगठन बनाउन कत्तिको चुनौतीपूर्ण छ ?
–क्रान्तिका नायक भन्नेहरु नै क्रान्तिका खलनायकमा बदलिएपछि प्रत्याक्रमणको चरणमा पुगेको क्रान्तिले सेटब्याक खान पुग्यो । यसले आम जनतामा मात्र होइन, क्रान्तिकारी नेता र कार्यकर्तामा समेत निराशा पैदा गरायो । परिणामतः विचार उत्कृष्ट हुँदा हुँदै पनि संगठन निर्माणको कार्य साँच्चै गम्भीर र चुनौतीपूर्ण छ । तर पनि सच्चा मालेमावादीहरुले हरेक प्रकारका चुनौतीहरुलाई क्रान्तिमा बदल्ने आँट र साहस गर्नैपर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दै संगठन निर्माणमा होमिएका छौं ।
क्रान्ति गर्न लायक पार्टी बनाउन कसरी सकिएला ?
–विचार र राजनीतिमा स्पष्ट, सर्वहारावर्गप्रति प्रतिबद्ध, पार्टी र क्रान्तिप्रति इमान्दार र समर्पित, क्रान्तिकारी स्पिरिट बोकेका व्यक्तिहरु सदस्य रहेको पार्टी संगठनले मात्र क्रान्तिको नेतृत्व गर्न सक्छ । अन्तर्संघर्ष र वर्गसंघर्षको भीषण प्रक्रियाबाट क्रान्तिकारी नेता कार्यकर्ताहरुको जन्म हुने गर्दछ । विचार र राजनीति सही हुनु र नहुनुले सबैथोकको निर्धारण गर्ने गर्छ । हामीसँग सहि विचार र कार्यदिशा छ, यसको जगमा उभिएर हामी नेपालमा नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सक्छौं ।
क्रान्तिलाई श्रम र उत्पादनसँग कसरी जोडेर लैजान सकिन्छ ?
–कम्युनिष्ट पार्टी भनेको श्रमलाई श्रद्धा गर्ने र उत्पादनमा जोड दिने पार्टी हो । क्रान्तिका मुख्य तीन जादुगरी हतियार पार्टी, मोर्चा र सेनाको आवश्यकता र महत्वलाई विशेष जोड दिंदै राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित संघर्षका गतिविधिहरुलाई श्रम र उत्पादनसँगै जोडेर लैजान जरुरी छ । पार्टीलाई आत्मनिर्भर बनाउन सम्बन्धित भूगोल, वस्तुगत र आत्मगत स्थितिका आधारमा जिल्ला पार्टीले कम्तिमा एक नमूना उत्पादन गर्ने नीतिलाई दृढताका साथ कार्यान्वयनमा लैजाने सोच राखेको छ ।