विश्वकप छनोटमा ब्राजिल र उरुग्वे विजयी

विश्वकप छनोटमा ब्राजिल र उरुग्वे विजयी

Brazilकाठमाडौं । विश्वकप २०१८ को दक्षिण अमेरिकी छनोट अन्र्तगत बुधबार बिहान भएको खेलमा ब्राजिल र उरुग्वे विजयी भएका छन् ।

घरेलु मैदानमा भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ ले हराएको हो । ब्राजिलको जितमा मिरान्डा र नेइमारले एक एक गोल गरे । ब्राजिलका मार्किनुसले आत्मघाती गोल गर्दै कोलम्बियालाई उपहार दिए ।

दोस्रो मिनेटमा नै मिरान्डाले गोल गर्दै ब्राजिललाई सुरुवाति अग्रता दिलाएका थिए । तर ३६ औं मिनेटमा मार्किनुसले आत्मघाती गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरी भयो ।

७४ औं मिनेटमा नेइमारले विजयी गोल गर्दै ब्राजिललाई जित दिलाए । कोलम्बियाका कप्तान जेम्स रोड्रिग्वेजले गोल गर्ने केही मौका गुमाए । जितसँगै ८ खेलबाट १५ अंक जोडेको ब्राजिल दक्षिण अमेरिकी क्षेत्रको छनौटमा दोस्रो स्थानमा उक्लिएको छ ।

समान १५ अंक भएपनि अर्जेन्टिना गोल अन्तगरका आधारमा ब्राजिल भन्दा पछि परेको छ । ८ खेलबाट १३ अंक जोडेको कोलम्बिया चौथो स्थानमा छ ।

अर्को खेलमा चिली बोलिभियासँग गोल रहित बराबरीमा रोकियो । ८ खेलबाट ११ अंक जोडेको चिली सातौं तथा सात अंक भएको बोलिभिया आठौं स्थानमा छ ।

विश्व कप छनौट अन्तर्गत बुधबार बिहान नै भएको खेलमा उरुग्वले पाराग्वेलाई ४–० ले हरायो । घरेलु मैदानमा भएको खेलमा उरुग्वेको जितमा एडिन्सन काभानीले दुई तथा क्रिष्टिएन रोड्रिग्वेज र लुइस स्वारेजले एक एक गोल गरे ।

१८ औंं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई सुरुवाति अग्रता दिलाए । ४२ औं मिनेटमा रोड्रिग्वेजले गोल गरेपछि अग्रता दोब्बर भयो ।

पहिलो हाफको अन्तिममा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै स्वारेजले गोल गरे । पहिलो हाफमा ३–० ले अघि रहेको उरुग्वेका लागि ५४ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै ४–० को शानदार जित दिलाए ।

दक्षिण अमेरिका क्षेत्रको छनौट चरणमा उरुग्वेले अहिलेसम्म खेलका ८ खेलमा पाँच खेलमा जित, एकमा बराबरी र दुईमा हारसहत १६ अंक जोडेको छ ।