महंगी, भ्रष्टाचार र कालाबजारी विरुद्ध संघर्ष गर्छौ : सुवेदी

10649957_829524713733381_4161346317603463137_nबुटवल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले महंगी, भ्रष्टाचार र कालाबजारी विरुद्ध पार्टीले संघर्ष केन्द्रीत गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले मुलुकमा व्यापक कालाबजारी र भ्रष्टाचार मौलाएको भन्दैं त्यसका विरुद्ध आन्दोलन गर्नुपर्ने खाँचो औल्याए ।

पार्टीले भदौं २४ गते गर्न लागेको सभाको तयारीका क्रममा बुटवलमा भएको जिल्ला नेता तथा अगुवा कार्यकर्ता भेलामा बोल्दैं नेता सुवेदीले बदमासी गर्नेलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे ।

उनले हरेक तहमा हुंने भ्रष्टाचारी, घुसखोरीलाई छानविन गरि प्रमाणका आधारमा कारवाही गर्ने पनि जानकारी दिए । जनताको न्यायपूर्ण संघर्षमा जोड दिंदैं अब निर्णायक आन्दोलनका लागि पार्टीले तयारी थालेको समेत उनले जानकारी दिए ।

पार्टीका रुपन्देहीका संयोजक भुलबहादुर सुनारीले पार्टी संगठन विस्तार र सुढृणीकरण अभियानमा पार्टी लागेको बताए । भेलामा पार्टी नेता टिपु सुल्तान, आरपी शर्मा, के.जी कुमार पौडेल, गिरबहादुर थापा लगायतले बोलेका थिए ।

भेलाले विरोध सभामा व्यापक जनसहभागिता गराउंने निर्णय गरेको छ । पार्टीले भदौं २४ गते बुटवलमा राष्ट्रिय स्वाधिनता र माथिल्लो कर्णालीको विरोधमा प्रदर्शनसहित विरोध सभा गदैंछ ।