काठमाडौं । भदौको अन्तिम साता हुने महिला संघ र असोजको पहिलो साता हुने तरुण दलको महाधिवेशनमा कांग्रेसको कृष्णप्रसाद सिटौला पक्षले एकल चुनाव लड्ने भएको छ ।
कांग्रेसमा ‘स्वतन्त्र गुट’ को अस्तित्व स्थापित गर्न सिटौला पक्षले तरुण दल र महिला संघमा एक्लै निर्वाचन लड्ने तयारी गरेको हो ।
त्यसका लागि सिटौला पक्षले तरुण दल र महिला संघको चुनावको गृहकार्यलाई निकै तीव्र बनाएका छन् । सिटौला पक्षधर नेताले तरुण दल र महिला संघको चुनावमा एक्लै लडेर आफ्नो शक्ति देखाउने तयारी गरेका हुन् ।
सिटौला पक्षधर नेताहरूले सोमबार काठमाडौंमा तरुण दलका महाधिवेशन प्रतिनिधिहरूको बृहत् भेला गरेको थियो । यसैगरी, सिटौला पक्षले केही दिनअघि महिला संघका महाधिवेशन प्रतिननिधिको भेला गरेको थियो । तरुण र महिलाको भेलामा सिटौला पक्षका केन्द्रीय नेताहरू उपस्थिति भएका थिए ।
सोमबार गरिएको भेलामा सिटौला आफैं सहभागी थिए । यसैगरी, प्रदीप पौडेल, सुधीर शिवाकोटी, भीमसेनदास प्रधानलगायतका नेता पनि सो भेलामा उपस्थिति थिए ।
भेलामा सिटौलाले आफ्नो समूह नै कांग्रेसको संस्थापन भएको दाबी गरेका थिए । ‘पदीय हिसाबबाट सभापति देउवाजी संस्थापन पक्षको भए पनि विचारको हिसाबबाट हामी संस्थापन पक्षका हौं,’ सिटौलाले भने, ‘बीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मको लिगेसी हामीसँग छ, अब हामी अझै फराकिलो भएर जानुपर्छ ।’
सिटौला पक्षधर नेताहरू नेविसंघको महाधिवेशनपछि उत्साहित भएका छन् । तरुण दल र महिला संघको चुनावमा नेविसंघमा झंै शेरबहादुर देउवा पक्षसँग सहकार्य नगरी एकल रूपमा चुनाव लड्ने तयारी सुरु गरेको सिटौला पक्षधर नेताहरूले बताएका छन् ।
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको दोस्रो चुनावमा सिटौलाले देउवालाई साथ दिएका थिए भने पहिलो चुनावमा सिटौला सभापतिमा चुनाव लडेका थिए ।
यसैगरी, नेविसंघको चुनावमा सिटौला पक्षले देउवा पक्षसँग सहकार्य गरेको थियो । देउवासँग मिलेर सिटौला पक्षले नेविसंघको चुनावमा एक महामन्त्रीसहित पदाधिकारीमै ९ सिटमा विजयी भएको थियो ।
नेविसंघमा झै तयारीलाई तीव्र बनाउँदै जाने हो भने तरुण दल र महिला संघमा नेविसंघको भन्दा पनि सफलता पाउन सकिने निष्कर्षमा सिटौला पक्षका नेता पुगेका छन् ।
‘तरुण दल र महिला संघको महाधिवेशनमा हामीले एकल रूपमा नै चुनाव लड्ने भएका छौं । देशभरका साथीहरूको सुझाव पनि यस्तै आएको छ,’ सिटौला पक्षधर नेता तथा नेविसंघका पूर्वसहमहामन्त्री बलदेब तिमिल्सिनाले भने ।
स्रोतका अनुसार सिटौला पक्षधर नेताले तरुण दल र महिला संघको चुनावमा कस्ताकस्ता उम्मेदवार उठाउने भन्ने विषयमा पनि गृहकार्य सुरु गरेका छन् ।
अहिलेको केन्द्रीय समितिमा रहेका सदस्यले चुनाव लड्न पाएमा मेदिन सिटौला, नारायण भट्टराई, दिनेश राईमध्ये एकजना उम्मेदवार हुनेछन् । वर्तमान केन्द्रीय समितिमा रहेका सदस्यभन्दा बाहिरकालाई चुनाव लडाउनुपर्ने भयो भने उत्तम चापागाईंको सम्भावना बढी छ ।
पार्टीले यसअघि नै नेविसंघ, तरुण दल र महिला संघका केन्द्रीय समितिमा रहेका सदस्यले चुनाव लड्न नपाउने निर्णय गरेको छ ।
महिला संघमा सिटौला पक्षले अध्यक्षका लागि धना खतिवडा, मालती सोडारी र इन्दिरा तिवारीको नाम अघि सारेको छ । सोडारी र तिवारी वर्तमान केन्द्रीय समितिमा छन् भने खतिवडा वर्तमान कार्यसमितिमा छैनन् । -राजधानी दैनिकबाट