काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) को महाधिवेशनको बन्दसत्र रोल्पाको थवाङमा हुने भएको छ ।
विप्लव माओवादीले आगामी फागुनको पहिलो साता आठौं महाधिवेशन गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विप्लव माओवादीले फागुन १ देखि ठ गतेसम्म महाधिवेशन गर्ने जानकारी दिएको हो ।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पार्टीको महाधिबेशन फागुन १ गते खुल्लामञ्चमा उद्घाटन र बन्दसत्र रोल्पाको धवाङमा हुने जानकारी दिए ।
भदौ ११ गतेदेखि १४ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति निश्चित गरेको हो ।
पत्रकार सम्मेलनमा प्रवक्ता विकले जनसत्ता पुनर्गठनमा तिव्रता दिने र जनजिविकाका मुद्दा अघि सारेर भदौ २० देखि २५ गतेसम्म पहिलो चरणको संघर्षका कार्यक्रम गर्ने जानकारी दिए ।
विप्लव माओवादीले भदौं २२ गते आफ्ना मागसहितको ज्ञापनपत्र बुझाउने, २८ गते देशव्यापी मशाल जुलुस र असोज ५ गते आपूर्ति मन्त्रालय घेराउ गर्ने भएको छ ।