एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रक्षा मन्त्रालयको गेटमा दुईवटा शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा पनि २४ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन्
पहिलो विस्फोट भएको केही समयमा नै दोस्रो आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा परी एक सेनाका जनरल, दुई जना प्रहरीका वरिष्ठ अधिकारीसमेत मारिको रक्षा मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।
तालिवान आतंकवादी समूहका प्रवक्ता जमिउल्ला मुजाहिदले काबुलमा भएको शृंखलाबद्ध आक्रमणको जिम्मा लिँदै आफ्नो पहिलो निशाना रक्षा मन्त्रालय र दोस्रो प्रहरी रहेको बताएका छन् ।
अफगानिस्तानका रक्षा मन्त्रालयका सहप्रवक्ता मोहम्मद रडमनिसले सुरक्षाकर्मीहरु जम्मा भएको भीडमा बिस्फोट गराएको जनाएका छन् । विस्फोटमा परी सर्वसाधारण, प्रहरी र सेनाका अधिकारी तथा जवानहरु मारिएका हुन् । आक्रमणको समयमा कर्मचारी भने कार्यालयसमय सकेर फर्किइसकेका थिए ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आक्रमणकारीलाई अफगानिस्तानको शत्रु भएको बताउँदै कडा कारबाही गर्ने बताएका छन् ।