पूर्वाञ्चल विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) को ९ बुँदै माग

पूर्वाञ्चल विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) को ९ बुँदै माग

mgकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले पूर्वाञ्चल विश्वविद्यालयमा आफ्ना ९ बुँदे मागपत्र पेश गरेको छ ।

क्रान्तिकारीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट अध्ययनका लागि आउने विद्यार्थीहरुले तिरेको शैक्षिक शुल्कबाट गुणस्तरीय शिक्षा हासिल गर्न सकुन् भन्ने चाहेको भएपनि भर्ना हुने क्रमदेखि पढाइ सक्दासम्म पनि एउटै मागका लागि आन्दोलन गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने जनाएको छ ।

अखिल (क्रान्तिकारी) उपत्यका जिल्ला समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठ र सचिव अरुण आचार्यसहितको टोलीले शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयमा शैक्षिक सुधारका लागि ९ बुँदे मा मागपत्र बुझाएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिमा ५ प्रतिशत आरक्षण कोटा भनी दिने गरेकोमा त्यसको आधार प्रष्ट पार्न, मुलुक विनाशकारी भूकम्पबाट प्रभावित भएको बेलामा शुल्क बढाउनु अमानवीय भएको भन्दै त्यसलाई तत्काल खारेज गर्न क्रान्तिकारीले माग गरेको छ ।

यसैगरी विश्वविद्यालयबाट प्राप्त हुने ट्रान्सक्रिप्ट निश्चित समयभित्र सहज रुपमा उपलब्ध गराउन, परीक्षा केन्द्र तोक्दा कलेज र परीक्षा केन्द्रको दुरीको आधारमा तय गर्न, मौका परीक्षालाई व्यवस्थित गर्न, स्ववियु निर्वाचनको मिति तत्काल लागु गर्न पनि क्रान्तिकारीको माग छ ।

पछिल्लो समयमा विभिन्न शिक्षण संस्थामा आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको क्रान्तिकारीले पूर्वप्रतिबद्धताअनुसार समयावधिभित्र पूरा नभएमा क्षतिपूर्ति दिन, पेपर रिचेकिङमा लिने चर्को शुल्क खारेज गर्न तथा विज्ञापनमुखी कार्यक्रमभन्दा सिर्जनसिलतालाई अभिवृद्धि गर्न पनि माग गरेको छ ।