काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बनेसँगै भारत र चीनको दोहोरो चासो ह्वात्तै बढेको छ ।
प्रचण्ड प्रधानमन्त्री हुने हल्लाचलेसँगै दक्षिण भारतमा खुसियाली छाएको समाचार भारतीय सञ्चारमाध्यमहरुले नै प्रकाशन प्रसारण गर्नुले प्रचण्डको नेतृत्व प्रति दक्षिणी छिमेकीको चासो झल्किन्छ ।
त्यतिमात्रै होइन् निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई माकेले दिएको समर्थन फिर्ता भएसँगै भारतको एक चर्चित पत्रिकाको अनलाइन संस्करणले नेपालमा भारतको पुनरोदय हुदै भनेर समाचार प्रकाशित गरेको थियो भने सोही अनलाईनले माकेका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग माग्दै माकेका नेता मातृका यादव दिल्ली पुगेर त्यहाँका शीर्ष नेताहरुसँग बिन्ती बिसाएको समाचार समेत प्रकाशित भएको थियो ।
माकेका नेता यादवले छातीको उपचारका लागि भन्दै दिल्ली गएर भारती नेताहरु डीपी त्रिपाठी, करण सिंहलगायतका नेताहरुलाई भेटेर प्रचण्डलाई प्रधानमन्त्रीमा सहयोग गरिदिन आग्रह गरेका थिए ।
नेपालको संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीका लागि भारतको सहयोग माग्नुले सत्ताको चाबी नेपालभित्र नभएको प्रष्टिन्छ । प्रचण्डलाई यसले दक्षिण भारतको नेपालमा सत्ता राजनीतिमा देखिने चासो प्रष्ट पारेको छ ।
त्यतिमात्रै नभई ओली सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने दिन ओलीले संसदमा संबोधन सुरु गर्नु भन्दा अघि नै भारतको टेलिभिजन च्यानल आजतकको अनलाईन संस्करणमा नेपालका प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएको समाचार प्रकाशित गरेको थियो ।
त्यसको दुई घन्टापछि मात्रै प्रधानमन्त्री ओलीले संसदबाट राजीनामाको घोषणा गरेका थिए र नेपाली सञ्चारमाध्यममा समाचार आएको थियो । यसैगरी भारतीय अर्को टेलिभिजन च्यानल जी न्युजमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र प्रचण्डले सपथ ग्रहण गर्ने र मन्त्रिपरिषद विस्तारसम्मका समाचार प्राथमिकताका साथ प्रसारण भइरहेका छन् ।
यसैगरी उत्तरी छिमेकी मुलुक चीनले पनि नेपालको सत्ता परिवर्तनको विषयमा पहिलो पटक विदेशमन्त्रालयबाट नै विज्ञप्ती जारी गरेको छ । यसअघि चीनले नेपालमा सरकार परिवर्तनको विषयमा विज्ञप्ती जारी गर्ने गरेको थिएन ।
चिनियाँ विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तीमा नेपालमा हुने सत्ता परिवर्तनले दुई देशबीचको सम्बन्धमा कुनै असर नगर्ने जनाएको छ । तर, नेपालको राजनीतिमा प्रचण्ड झुकाव कता हुन्छ भन्ने कुराले ठूलो महत्व राख्नेछ ।
नेपालको संसदबाट प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुनेवित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई ज्ञापन गर्दै भारत भ्रमणमा आउन आग्रह गरिसकेका छन् भने त्यसको भोलिपल्ट बिहानै भारतीय राजदूत रञ्जित रेले प्रचण्ड निवासमै गएर बधाईसहित मोदीको निम्तो हस्तान्तरण गरेका थिए ।
प्रचण्ड प्रधानमन्त्री बनेपछि चिनियाँ राजदूत यु चुन्ताईले पनि प्रचण्डलाई भेटेर बधाई दिएका थिए । उनले प्रचण्डलाई बधाई दिए र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनको बालकोटस्थित निवासमा नै गएर भेटवार्ता गरेका छन् । भेटमा द्विपक्षीय हित तथा आपसी चासोको विषयमा कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित प्रचण्डलाई चीन र भारतसँगै दक्षिण एसियाली मुलुकहरु पाकिस्तान, भुटानका प्रधानमन्त्रीले पनि बधाई दिएका छन् भने अन्य देशबाट समेत शुभकामना आउने क्रम जारी नै छ ।
तर दक्षिणी छिमेकीबाट शुभकामना र बधाईसँगै आएको महावाणीको बारेमा भने केही खुलेको छैन । तर, नेपालको राजनीतिमा प्रत्यक्ष र परोक्ष रुपमा हस्तक्षेपकारी भूमिका खेल्दै आएको भारतले आफ्नो अनुकुल संविधान नआएको भन्दै सार्वजनिक असन्तुष्टि मात्रै जनाएन मधेसवादी दलको आवरणमा नाकाबन्दी नै गर्न पुग्यो ।
ओली सरकार ढाल्नका लागि कम्मर कसेर लागेको भारतले केही महिनाअघि दिल्लीमा नै बोलाएर माकेका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको थियो ।
नेपालमाथि गत वर्षको असोजदेखि औपचारिक रुपमा पछि परेको दिल्लीले झण्डै नौं महिना लामो प्रयासपछि आफ्नो हात माथि पार्न सफल भएको छ । यसले राष्ट्रवादी शक्ति र सार्वभौमिकता र स्वाधीनताको पक्षमा रहेका शक्तिहरुका लागि भने अर्को आशंका पैदा गरिदिएको छ ।
प्रधानमन्त्रीका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दा प्रचण्डले निवर्तमान प्रधानमन्त्री केपी ओलीसमक्ष फास्ट ट्रयाक सहितका राष्ट्रिय गौरवका आयोजना सरकारले नै बनाउने तर स्रोत देखाइदिन आग्रह गरेका थिए । केही समयअघि फास्ट ट्रयाक निर्माणका लागि भारतलाई जिम्मा दिने विषयमा आफ्नो भनाई राखेपछि कांग्रेस सभापति देउवाले विज्ञप्ति नै जारी गरेर त्यसको खण्डन गरेका थिए ।
अहिले आएर प्रचण्डले स्रोत नभएको बाहानामा फेरि पनि फास्ट ट्रयाक, काठमाडौं तराई द्रुतमार्गलगायतका आयोजना भारतलाई सुम्पिने संकेत गरेका छन् । यसो भयो भने राष्ट्रघाती कदम चाल्नेमा उनले अर्को इटा थप्नेछन् ।