काठमाडौं । नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठकमा दुई देशकाबीच सन् १९५० मा भएको सन्धिदेखिका सन्धि सम्झौतालगायतका द्विपक्षीय विषय पुनरावलोकन गर्नेबारेमा छलफल भएको छ । सन्धि पुनरावलोकन गर्नुपर्नेबारेमा नेपाल समूहबाट राखेको प्रस्तावमा भारतीय समूह छलफलमा गर्न तत्पर भए पनि त्यसबारे भने तीन महिनापछि दिल्लीमा पुनः छलफल गरिने भएको छ ।
नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरावलोकन गरी सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको बैठक सोमबार र मंगलबार बसेको बैठकमा वैठकको कार्यविधिहरु तय गरिए पनि कुनै ठोस निर्णय हुन सकेन ।
बैठकपछि नेपालको प्रबुद्ध समूहका संयोजक एवम् पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले विभिन्न समयमा नेपाल–भारतबीच उठेका सबै विषयले बैठकमा प्रवेश पाएको बताए ।
नेपाल–भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन बैठकमा दुवैतर्फबाट थप अध्ययन गरी अगामी बैठकमा प्रस्तुत गर्ने सहमति भएको उनले जानकारी दिए । समूहलाई दिइएको कार्यादेशका बुँदामा बैठकमा प्रवेश गरी अगामी बैठकमा यसकाबारेमा दुवै देशले विस्तृत अध्ययन गरी प्रस्तुत हुने सहमतिसमेत भएको थापाले जानकारी दिए ।
समूहलाई दिइएको कार्यादेशमा दुवै देशबीचमा भएका सन्धि सम्झौताको अध्ययन, व्यापार तथा पारवहन, सूचना प्रविधि, विकासलगायतका क्षेत्रको अध्ययन गरी सुझाव दिने रहेको बताइएको छ ।
वैठकपछि आयोजित पत्रकार सम्मेलनमा भारतको प्रबुद्ध समूहका संयोजक एवम् उत्तराञ्चल प्रदेशका पूर्वमुख्यमन्त्री भगतसिंह कोसियारीले समूहको छलफलमा दुवै मुुलुकबीचको सम्बन्धको समीक्षा भएको बताए । प्रबुद्ध समूहको बैठकले दुई देशकाबीच कहीँकतै असमझदारी भएमा यसको खोजी गरी समाधान गर्न दुवै देशका सरकारलाई सुझाव दिने उनले बताए ।
उनले समूहको आफ्नो सीमा रेखा रहेको उल्लेख गर्दै सीमारेखा नाघेर जान नसकिने बताए ।समूहलाई दिएको कार्यादेशको अधिनमा रहेर काम गर्ने उनले बताए ।
समूहमा नेपालकातर्फबाट डा थापाको संयोजकत्वमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वकानुनमन्त्री नीलाम्बर आचार्य र सांसद डा राजन भट्टराई रहेका छन् भने भारतका तर्फबाट पूर्वमुख्यमन्त्री कोसियारीको संयोजकत्वमा जयन्त प्रसाद, महेन्द्र पी लामा र बिएस उप्रेती सदस्य छन् ।