आपूर्ति मन्त्री गणेशमान पुनमाथि तरकारी व्यापारीहरुद्वारा आक्रमण

काठमाडौं — बल्खु तरकारी बजारमा पुगेको आपूर्ति मन्त्री गणेशमान पुन सहितको सरकारी अनुगमन टोलीमाथि तरकारी व्यापारीहरुले आक्रमण गरेका छन् । व्यापारीहरुले प्रयोग गरेको ढक तराजू दर्ता भए नभएको अध्ययन गर्न गएको टोलीमाथि व्यापारीहरुले इट्टा, लौका तथा मुलाले आक्रमण गरेका हुन् ।

kalimati-aakramad

आपूर्ति व्यवस्था विभाग, नापतौल तथा गुणस्तर विभाग, सुरक्षा निकाय तथा पत्रकारसहितको टोली कालिमाटी तरकारी बजारको अनुगमन गरेपछि बल्खु तरकारी बजारमा पुगेको थियो । अकस्मात आएर अनावश्यक रुपमा दुःख दिएको भन्दै व्यापारीहरुले टोलीमाथि आक्रमण गरेका हुन् ।

तरकारी बजारमा प्रयोग भएका सबैजसो ढक तराजू उचित परिमाणको नभएको गुनासो आएपछि मंगलबार टोली अनुगमनमा निस्किएको थियो । कालिमाटीमा सहज रुपमा भएको ढक तराजूको अध्ययन तथा अनुगमन बल्खुमा भने व्यापारीको आक्रमणपछि हुन सकेन ।

आक्रमणपछि अहिले दुवै पक्षबीच वार्ता भइरहेको छ। तरकारीमा उपभोक्ता ठगिएको, बजारमा विषाक्त तरकारी आएको गुनासो बढेपछि आपूर्ति मन्त्री गणेशमान पुन सहितको टोलीले आज तरकारी बजार अनुगमन गरिरहेको छ । 

स्रोतः ईप्रभावडटकम