पाँचथर, २१ असार । शिक्षण पेशामा ३७ वर्ष संलग्न रहेर अनिवार्य अवकास पाएका ताप्लेजुङको हाङ्पाङका जनार्दन प्रसाईले यो बर्ष करिव एक लाख ५० हजार बढि अलैँचीको बिरुवा उत्पादन गरी बिक्री गरेका छन् ।

२०५८ सालमा जागिरबाट बाहिरिएपछि घर छेउमा रहेको आफ्नै १३ रोपनी क्षेत्रफलको जग्गामा २०७० सालमा नर्सरी सुरु गरी यो वर्ष बिरुवा विक्री गरेका हुन् । २०७० सालमा जिल्ला कृषि विकास कार्यलय ताप्लेजुङको सहयोगमा प्रसाईले नर्सरी सुरु गरेका थिए ।
लामो समय सम्म सरकारी जागिर खाँदा एकै पटक एक लाख रुपैँया नसमाएका प्रसाईले बिरुवा उत्पादन पछि चार लाख बढि नगद समात्न पाँउदा गौरव लागेको बताए । प्रसाईले उत्पादन गरेको बिरुवा सिन्धुपाल्चोक सम्म पुगेको छ ।
सिन्धुपाल्चोक मेलम्चीका रमेश ढुंगानाले एकै पटक ८५ हजार बिरुवा लगेको प्रसाईले बताए । ढुंगानाबाट एकै पटक चार लाख २५ हजार पाँउदा प्रसाईले गौरब लागेको सुनाएका छन् ।
उनले भने “३७ वर्ष सम्म सरकारी जागिर खाँदा एकै पटक एक लाख समात्न पाएको थिइन, तर नर्सरी गरेर बिरुवा बेच्दा मोटो रकम समात्न पाँए गौरव लाग्यो, यो पैसा समाज सेवामानै खर्च गर्छु ।”
गाँउघरमा प्रति गोटा १० देखि १५ रुपैँयाका दरले बिक्री वितरण हुँदै आएको अलैँचीको बिरुवा प्रसाईले ५ रुपैँयाका दरले नै बिक्रि गरेका छन् । धेरै लानेलाई ५ रुपैँयाका दरले नै दिएको र थोरै मात्रामा लानेलाई ८ रुपैँया सम्ममा विक्री गरको उनले बताए ।
केही बिरुवा गाँउमा विक्री भएको र अव बाँकी रहेको करिव १५ हजार बिरुवा जिल्ला कृषि विकास कार्यालयलाई दिने तयारी भईरहेको उनको भनाई छ । बिरुवा उत्पादन तथा विक्री गरेर जम्मा भएको पैसा समाज सेवामा खर्च गर्ने बताउदैँ आएका प्रसाईले २०५८ साल देखिनै स्थानीय सरस्वती उच्च माविको बाल कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई दैनिक खाजा खुवाउँदै आएका छन् ।
केही रकम त्यँही खाजा खुवाउने कार्यमा खर्च गर्ने र बाँकी रहेको रकमले त्यही विद्यालयमा छात्रवृत्ति अक्षकोष निर्माण गर्ने प्रसाईले बताए । नर्सरी गरेर अलैँचीको बिरुवा उत्पादन गर्न कम्तिमा ३२ महिना लाग्ने साथै यो झन्जटीलो भएपनि मेहनत गरे राम्रै आम्दानी लिन सकिने प्रसाईको बुझाई छ । उमेरले ६० वर्ष नाघेका प्रसाईले अव ५ वर्ष सम्म नसरी गर्नमै समय खर्च गर्ने सोच बनाएका छन् ।
स्रोतः कोसेलीन्यूजडटकम





























