श्रीमती हत्याको आरोपमा श्रीमान् र सासू पक्राउ

पर्सा । श्रीमती हत्याको अभियोगमा पर्सा प्रहरीले श्रीमान् र सासूलाई पक्राउ गरेको छ ।

पर्साको भेडियाही–९ गदियानी टोल निवासी रमावती देवीको हत्या अभियोगमा उनका श्रीमान् परमा मण्डल र सासू गदनीदेवी मण्डललाई पक्राउ परेका हुन् ।

बीस वर्षीया श्रीमती रमावती देवीको शव घर नजिकै रहेको नागेश्वर साह तेलीको खेतमा गाडेको अवस्थामा शुक्रबार साँझ बरामद भएपछि श्रीमान् मण्डल र सासू गदनी देवीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रमावती देवीको शव वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा परीक्षण गराइएको प्रहरीले बताएको छ । रमावती देवीलाई विष खुवाएर हत्या गरेको देखिएको जनाइएको छ ।