लहान । बाढीबाट प्रभावित सप्तरीका विभिन्न गाविसमा महामारीको संक्रमण फैलने डरका कारण जिल्ला जनस्वास्थ्य कार्यलयले औषधी सहितको टोली परिचालन गरेको छ ।
केही दिनअघिको अविरल वर्षासँगै विभिन्न नदीमा आएको बाढीका कारण डुबानमा परेको सप्तरीको सकरपुरा, लौनियाँ, तिलाठी, रम्पुरा मल्हनियाँलगायतका गाविसमा आवश्यक औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो ।
बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको संक्रमण बढेर महामारी फैलिन सक्ने भएकाले बिरामीको उपचार तथा महामारी फैलिन नदिन आवश्यक निगरानीका लागि बाढी प्रभावित स्थानमा स्वास्थ्यकर्मी खटाइएको हो ।
बाढी प्रभावित क्षेत्रमा रुघाखोकी तथा ज्वरोको बिरामी देखिन थालेपनि महामारी नै फैलिने अवस्था नरहेकाले औषधिसहित स्वास्थ्यकर्मी प्रत्येक प्रभावित स्थानमा परिचालन गरिएको कार्यालयले जनाएको छ ।
बाढीका कारण खानेपानीको मुहान प्रदूषित हुनुका साथै बाढीसँगै आउने सर्प, बिच्छी तथा भ्यागुता मरेर बस्ती दुर्गन्धित बनेका छन् ।